-अरुण (सरकार)
नेपालमा संघीय गणतन्त्र घोषणा भएको झण्डै दुई दशक पुग्न लाग्यो। तर यतिका वर्षपछि पनि नेपाली जनताको मनमा एउटा घोचिलो यथार्थ गढेर बसेको छ- यो गणतन्त्र त कतै घाँटीमा अड्किएको गलगाँड जस्तै त हैन?
हाम्रो जुन सुन्दर देश थियो, जुन देशले आशा, बलिदान र सपना बोकेको थियो, त्यो देश अहिले गणतन्त्रको आवरणमा कुरुप हुँदै गएको छ। नेपाली जनताले कहिल्यै कल्पना नगरेको अनुभव गर्न थालेका छन्- शायद ०६२/६३ को जनआन्दोलन एउटा अक्षम्य अकर्मण्यता थियो, जुन आन्दोलनले नयाँ युगको सुरुवात होइन, पुरानै अन्यायको बाढीलाई नयाँ स्वरूपमा स्थापित गर्यो भनेर।
गणतन्त्र हो कि त्यसमा लुकेको राजतन्त्र?
नेपाली जनताले सोचेका थिए अब शासन गर्नेहरू जनताकै छोराछोरी हुनेछन्। तर आजको यथार्थ के छ? के गणतन्त्र साँच्चै नेपाली जनताका छोराछोरीले चलाएको शासन प्रणाली हो त? यो त गणतन्त्रको आवरणमा त्यस्तो शासन प्रणाली लादिएको छ, जसमा नेता आफैंलाई राजा सम्झन्छन्। जनताको मतमार्फत सत्ता पुगेका उनीहरू, जनताको दु:खप्रति उत्तरदायी बन्नुको साटो फूलमाला, भाषण र विशेषाधिकारको महलमै रमाइरहेका छन्।
राजनीति- ‘सेवा होइन, शक्ति प्रदर्शन र सम्पत्ति आर्जनको एउटा माध्यम हो’ भन्ने सोचेका छन्। जनताले अनुभूति गर्न थालेका छन्, गणतन्त्र होइन, यो त सस्तो मूल्यमा फेरि भित्रिएको राजतन्त्र हो।
रामायण-महाभारतका पात्र र छायामा आजका नेताहरू छन्। त्यो भन्न दुई मत न होला।
रामायणमा रावण महान विद्वान थिए। शक्तिशाली राजा थिए। तर, अहंकार, लोभ र स्त्रीको सम्मान नगरेको कारणले उनको स्वर्णमयी लंका नाश भयो। त्यस्तै आजका नेपाली नेताहरू पनि सत्ता र सुविधा प्राप्त गरेपछि जनतालाई उपेक्षा गर्छन्।आफूलाई राजा सम्झन्छन्। यदाकदा त तिनको हाउभाउ हेर्दा लाग्छ- ‘गणतन्त्रको नाममा लुकेको क्रुर राजतन्त्र पो हो यो?’
महाभारतका पात्रहरू जस्तै दुर्योधन: ‘अर्धमात्र पनि दिन सक्दिन’ भन्ने हठ, शकुनी: सधैं षड्यन्त्र र रणनीतिको चालमा रमाउने, दुशासन: दमनकारी कार्यमा संलग्न, यी सबै चरित्रहरू हामीले आजका नेताहरूमा भेटिरहेका छौं। नेपालमा नेतृत्व नामको कोही सत्यवादी युधिष्ठिर छैन, न न्यायकारी कृष्ण, न त रामचरित्र मानव।
देशमा त बाइसे र चौबिसे राज्यको पुनरागमन भएको छ, त्यो पनि संघीयताको नाममा। संघीयता जनताको नजिक शासन ल्याउने उद्देश्यले ल्याइएको हो। गाउँ- गाउँमा सिहदरबार भनेको तर, आज गाउँगाउँमा काशी दरबार (लैनचोरमा भएको राणाको दरबार जसलाई जुद्ध शमशेरले बनाएका थिए। नाचगान, अरु कार्यक्रम हेर्नको लागी) पो बन्न पुगेको छ। प्रदेशहरू छोटे–छोटे राज्यजस्ता भएका छन्।
त्यहाँ मन्त्री र मुख्यमन्त्रीहरू आफूलाई साना राजा ठान्छन्। शासन गर्ने प्रवृत्ति होइन, शोषण गर्ने प्रवृत्ति हाबी भएको छ। जनताले बुझ्न थालेका छन्, यो संघीयता होइन, विकेन्द्रीत राजतन्त्र हो। एउटै मुलुकमा थुप्रै शक्ति केन्द्रहरू छन्, जहाँ हरेकले आफ्ना समर्थक र स्वार्थको शासन चलाइरहेका छन्।
यो कुन गणतन्त्र हो? कुनै मानेमा? यो गणतन्त्र हुनै सक्दैन, यो त गणतन्त्रको आवरणमा लुकेको कहालीलाग्दो र क्रुर राजतन्त्र हो। जुन अहिले हाम्रो देशका छोटे राजाहरूले चलाइ रहेका छन्। नेपालले खोजेको गणतन्त्र यस्तो थिएन। यो त जनताको हातबाट बोट झारेर फेरि उहि जात्राको घण्टा बनाउने शासन हो।
अब प्रश्न उठ्छ- के हामीले गणतन्त्र खोज्दा यस्तै राजतन्त्र भित्र्याउएका थियौं?जनताको मनमा प्रश्नहरू छन्, तर जवाफ दिने कोही छैन। त्यसैले आजको गणतन्त्र, गणतन्त्र छैन।
यो त घाम ताप्न लुगा सुकाएको बहाना दिने तर, भित्र नझुल्किने राजतन्त्र हो।नेपाली जनताको घाँटीमा अड्किएको गाँड हो, न त निल्न सकिने, न थुक्न नै।
अब या त यो गाँड निकाल्नुपर्नेछ, या त फेरि अर्को आँधी आउनुपर्नेछ जनताको असली गणतन्त्रका लागि।