वायुसेवा निगमको जहाजलाई हङकङमा चौथो पटक प्रतिबन्ध, अब पुसमा मात्रै उडान भर्न पाउने

नेपाल वायुसेवा निगमको जहाजलाई हङकङले चौथो पटक प्रतिबन्ध लगाएको छ।

नेपाल उडाइएका यात्रुकाे काेराेना परुीक्षण गर्दा रिपाेर्ट पोजिटिभ आउपछि पुन: प्रतिबन्ध लगाइएकाे हाे। 

कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका यात्रु हङकङ पुग्ने बित्तिकै परीक्षण गर्दा पोजिटिभ आउने गरेकाे छ।  

यसअघि निगमको उडानमा हङकङले पहिलाे १५ दिन उडानमा प्रतिबन्ध लगाएकाे थियो। हङकङले पछिल्लो पटक १० मंसिरसम्मलाई उडानमा प्रतिबन्ध लगाएकाे थियाे।

त्यसपछि पनि उडाइएकाे यात्रुमा काेराेना पुष्टि भएपछि  निगमको उडान १४ मंसिरसम्म तेस्राे पटक प्रतिबन्ध लगाइएकाे थियाे।

मंसिर १५ गतेनिगमको जहाज २५१ जना यात्रु बाेकेर हङकङ गएको थियो।

ती यात्रुमध्ये पाँच जनामा कोरोना पोजिटिभ देखिएकाे थियाे। एक जनाकाे भने स्पष्ट रिपाेर्ट आउन नसकेकाे निगमले जनाएकाे छ। 

पटक पटक हङकङ पुगेका यात्रुमा काेराेना  देखिएपछि चौथो पटक १५ दिनका लागि उडानमा प्रतिबन्ध लगाएको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए।

मिश्रका अनुसार, हङकङ सिभिल एभिएसनको नियम बमोजिम पोजिटिभ यात्रु भित्र्याउने वायुसेवालाई १५ दिन उडानमा प्रतिबन्ध लगाइएको हो। यो कारबाही अनुसार निगमले आगामी २ पुससम्म हङकङमा उडान गर्न पाउने छैन।

निगमले सरकारी प्रयोगशालाको रिपोर्टलाई मात्रै मान्यता दिएर हङकङ उडान गरेको थियो। तर, सरकारी प्रयोगशालाको नेगेटिभ रिपोर्ट समेत हङकङमा पोजिटिभ देखिएको छ। 

हवाई उडानमा ७२ घण्टाको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टलाई मान्यता दिने गरिएको छ।

मिश्रका अनुसार काठमाडौंबाट हङकङ र नारिता जाने यात्रुमा पोजिटिभ रिपोर्ट आउदा सम्बन्धित देशले उडानमै प्रतिबन्ध लगाएको थियाे।

तर निगमका अन्य गन्तव्यमा भने उडानमै प्रतिबन्ध लगाउने गरी समस्या नआएको सहप्रवक्ता मिश्रले बताए।

उनका अनुसार, काठमाडौंबाट यूएईको दुबई र जापानको नारिता जाने यात्रुमा पोजिटिभ रिपोर्ट आउँदा सम्बन्धित देशले थप सचेतना अपनाउन आग्रह गर्ने गरेका छन्।

उडान पूर्व गर्ने तयारी र आवश्यक यात्रु जाँचमा समय कम भएकोले निमगले यी दुई गन्तव्यमा जाने यात्रुका लागि चार घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ।

प्रकाशित मिति: : 2020-12-04 14:38:00

प्रतिकृया दिनुहोस्