अनि बालाई भने– पोर्चुगल आए कार्ड बनाएँ

सानोमा हामी तिलाहारी गाउँ खुब जान्थ्यौं।  गाउँबाट अलि पर पहरामुनी तीन तले घर थियो, डिल्लीराज बुढाको। एकजना छोरा पनि थिए, घनराज नाम गरेका। पहरामाथी चिउरीका बुटा, अलि पर पुलामी गाउँ नजिकै अमला, बयर र लप्सी फल्दथे।

 हामी डिल्लीराज बाजेलाई मनले नभय पनि मुखले चिप्लोघस्न बाजे भनेर सम्बोधन गर्थ्यौं। च्युरी पाक्ने बेला, अमला खाने बेलामा त बुढालाई गाउँबाट मुला चोरेर लगिदिन्थ्यौं। कहिले काही खुट्टै पनि ढोगी दिन्थ्यौं।

उनको खुट्टा गोबरले गन्हाएको हुन्थ्यो। तर खुट्टामा ढोग गर्दा हामीलाई भने निकै फाइदा हुन्थ्यो। बुढा दंग पर्दै हामीलाई १–२ माना बढी चिउरी दिन्थे। त्यो लोभ हामीसँग थियो। बोल्दा निकै छुच्चो डिल्लीराज बाजे मनका भने सफा थिए। 

बाहिर उनी जति खुसी देखिन्थे, भित्री मनमा निकै ठूलो पिडा गढेर बसेको थियो। एकदिन घनराज घरमा थिएनन्। सायद बाहिर कतै गएका थिए होलान्। बुढाले चर्को स्वरमा ‘ओइ घने’ भन्दै ५–६ पल्ट चिच्याए। उनी छोरालाई कहाँ छस् भन्दै चिच्याउँथे र तुरुन्त घर आउन आदेश दिन्थे। 

यतिकैमा हामी टुप्लुक्क उनको घर पुगेका मात्र के थियौं, उनले सोध्न भ्याए–‘तिमीहरुले हाम्रो घने टोकायलाई देखेनौंरु’
हामीले घनेलाई देखेको थिएनौं। तर हामीलाई बाजेले उचारण गरेको एउटा शब्दले भने आश्चर्यमा पार्यो।

उनले छोरालाई टोकाय किन भनेरु यो शब्दले मलाई बाटोभरि असमञ्जसमा पार्यो। बाजेलाई सोध्ने हिम्मत भएन।

घर फर्किएको आफ्ना बालाई निकै खुसी देखेँ। बाको मुड राम्रो देखेपछि सोध्न गार्हो भएन। सोधेँ, ‘बा घनेलाई डिल्लीराज बाजेले टोकाय किन भनेकोरु के हो यो टोकाय भनेकोरु’

मेरो यो प्रश्न सुन्ने वित्तिकै बाले पहिले त गाली गर्नुभयो। यसपछि सम्झाउन थाल्नुभयो–‘तिमीहरुले उसलाई कहिल्यै टोकाय नभन्नु।’ यति भनेपछि बाले अरु केही भन्न चाहनु भएन। 

हाम्रो गाउँमा एकजना तङ्ग्राय बाजे पनि बसोबास गर्थे। उनी बाग्लुङको तम्राङ्गबाट झरेको हुनाले उनको नाम नै तङ्ग्राय बाजे बन्न पुग्यो। अब हामीले उनलाई सोध्यौं–घनेलाई उनको बुवाले टोकाय किन भनेको? 

हाम्रो लामो अनुनय–बिनयपछि उनले भने, ‘घनराज जन्मिएको केही क्षणमै उसको आमाको निधन भएको थियो। त्यसैले उसलाई डिल्लीराजले टोकाय भनेका हुन।’ 

यसपछि हामीलाई थाहा भयो, बिचरा घने त टुहुरो पो रहेछ। यो रहस्य थाहा पाएपछि उनीप्रति हाम्रो प्रेम झन् बढेर गयो। श्रीमतीको निधनपछि गाउँमा डिल्लीराज बाजेलाई बिहेको लागि ठूलो दबाब परेको थियो।

तर, उनले गाउँलेको दबाबलाई अस्विकार गर्दै अर्को बिहे नगर्ने, श्रीमतीकै यादमा जीवन बिताउने र छोरालाई ठूलो मान्छे बनाउने कसम खाएका रहेछन्। 
हुन पनि घनराजको पढाईं राम्रो थियो। उ सधै कक्षामा अब्बल आउँथ्यो।

कामकाजमा पनि सानैदेखि भिडेको थियो। उसले सानैमा डोको बुन्ने, नाम्लो–दाम्लो बुन्ने काम सिकिसकेको थियो। उ कहिले काहीँ डोको, नाम्लो बेच्न गाउँगाउँमा घुम्थ्यो पनि। 

गाउँमा हामीलाई परिवारका ठूलाबडाले गाली गर्दा त्यो घनराजको ‘गु खाउ’ भन्ने गर्थे। छोरा हुनु त घनराज जस्तो भन्ने हुन्थ्यो। सानै उमेरमा उसले सीप सिकिसकेको थियो। 

उमेरले काका भएपनि डिल्लीराजलाई बाजे भनेर बोलाउँदा दंग पर्थे। समय बित्दै गर्दा घनराजसँगै एउटै ब्याचमा मैले एसएलसी उत्र्तिण गरेँ। म थप अध्ययनका लागि शहर पसेँ। उ गाउँबाटै क्याम्पस धाउन थाल्यो।

बिहान क्याम्पस पढ्ने घने बेलुका चौतारो मासाना साना गाउँका भाईबहिनीलाई ट्युसन पढाउँथ्यो। उ ट्यालेन्ट त थियो नै, अनुशाषित पनि। गाउँमा ट्युसन पढाउँदा उसको आर्थिक अवस्था पनि फेरिदै गएको थियो।

म शहर प्रवेश गरेपछि उसँगको दुरी पातलिँदै गयो। शहर आएपछि मलाई पनि विदेश जाने मोहले तान्यो। सबै कागजी प्रक्रिया मिलाएरर विदेश हानिए। यसपछि उसँगको भेट लगभग बन्द भयो। विदेश आएपछि कामको चापले बिपना त के सपनामा पनि उसको अनुहार देख्न छोडिसकेको थिए। 

अस्ति पोर्चुगलको राजधानी लिज्वनमा कोरोना महामारी फैलिन थालेपछि सरकारले शनिबार दिउँसो १ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कफ्र्यू लगाउने निर्णय गर्‍यो। यसको सुचना सरकारले दिएपछि ९ बजे म दैनिक आवश्यक बस्तु खरिद गर्न पिङ्दोदोष मार्केटतर्फ हान्निएको थिए।

यति नै बेला बजारमा हाम्रो गाउँमा बोल्ने चलनचल्तीको भाषा ‘च’ लगाएर आइच्च रे, आम्चु, ल्याम्नी हो नि शब्द सुन्दा मलाई एकपल्ट फेरि गाउँ पुगेको सम्झना भयो।

र, लेग्रो तानेर यो भाषा बोल्ने मानिसतर्फ लाग्दै गर्दा एउटा दृश्य देखेर चकित परेँ। त्यसरी बोल्ने केटो अरु कोही नभएर त्यही घने रहेछ। 
उसलाई आफ्नो आँखा अगाडि देखेपछि बीच बजारमा म कराए,‘एै धने।’ 

उ पनि चिच्यायो, ‘एै ठाकुरे।’ 

१७ वर्षपछि विदेशमा उसलाई देख्दा मलाई पहिले त कुनै सपनाभन्दा कम लागेन। मैले उसलाई जाऊ हिँड मेरो कटेरो–टहरोमा भन्दै घर लिएर आए। लिज्वनमा म बसोबास गर्ने ठाउँ नेपालीहरूमाझ कटेरो–टहरोको नामले चर्चित छ। लामो समयपछि भेटेको गाउँको साथी उ पनि मेरो एउटै इसारामा घर आयो। 

घर पुगेर हामीले लामो समय गाउँको कुरा गर्‍यौं। त्यो चिउरी बोट, लप्सी, बयरको कुरा पनि उप्कियो। यत्तिकैमा मैले उसलाई प्रश्न गरेँ, ‘तँ त बुढा बालाई छोडेर बिदेश आइछस्? बुवाको श्राप लाग्ला हैँ। गाउँमा सबै सीप सिकेको मान्छे। किन आइस् बिदेश?’

मेरो प्रश्न स्वभाविक थियो। तर, उसले लामो श्वास फेर्‍यो। र, आफू बिदेश आउनुपर्ने कारण खुलायो। र, बिदेश आउन डिल्ली बाजेले नै स्विकृति दिएको बतायो। 

गाउँमा एउटा यस्तो घटना भएछ– जसका कारण उसले बिदेश आउनुपर्ने बाध्यता बनेछ। घनेले आईए पास गरेपछि पढाईलाई बिट मार्दै गाउँमा मास्टरी गर्न थालेछ। गाउँघरमा सबैले उसलाई अब ‘घने मास्टर’ को रूपमा चिन्न थालेछन्। बिहे गर्ने उमेर पुगेपछि घरमा बिहेको कुरा उठ्नु स्वभाविक थियो।

उसको लागि टोहोरे निउरे साइलाकी छोरीसँग बिहे गर्ने कुरा चलेछ। यसका लागि चिनो देखाउने काम भयो। चिनो पनि मिल्यो। अब लगनको तिथि खुट्याउने दिनभन्दा एक दिनअघि उसको चिनो फिर्ता भएछ। केही दिनअघि योग्य भएको बर रातारात अयोग्य घोषित भयो। यसको कारण रहेछ, गजाधर। 

गजाधरले पनि हामीसँगै एसएलसी दिएको थियो। तर, उ फेल भएको थियो। गाउँमा खराब केटोको उदाहरण दिँदा उसको नाम लिने गरिन्थ्यो। तर, त्यही गजाधर घनेभन्दा सुयोग्य भएर निस्किएछ।

यसको कारण थियो, उ जापान बसेको थियो। जापानमा लामो समय बसेका कारण उसले एजु पनि प्राप्त गरिसकेको रहेछ। यसको अर्थ उसले भिसा लगाइरहनु नपर्ने। फेरि बिहे गरेपछि बिना रोकटोक श्रीमती पनि लान पाउने। 

घनेको क्षमता र दक्षतालाई जापानमा बसेका कारण गजाधरले उछिनेको रहेछ। उसले मलिन आवाजमा मलाई भन्यो, ‘गाउँमा हामीलाई केटी कसले दिने? सबै योग्यता विदेशमा बसोबास गर्नेको मात्र भएपछि।’ 

पहिलो बिहेको कुरा बिग्रिएपछि छिमौली गाउँको अजयनन्दकी छोरीसँग पनि बिहेको कुरा चलेको रहेछ, उसको। तर, उनलाई पनि अस्ट्रेलियामा काम गर्नेले हात पारेछ।

एकदिन तिलाहारीको पाखोमा घाँस काट्न जाँदा खत्री टोलकी सम्झनासँग उसको भेट भएछ। उसले ठट्यौली पारामा बिहेको प्रस्ताव राखेको के थियो, उत्तर आएछ, ‘कहाँ तिमी जस्तो डोके नाम्लेसँग बिहे गर्ने। मेरो केटो त पोल्याण्ड गएको छ। एक वर्षपछि आउँदैछ। त्यहीसँग बिहे गर्ने हो।’

यी घटनाले गर्दा मानसिक तनाव बेहोरेको घने आजीवन बिहे नहुने पिरले पोर्चुगल पसेको रहेछ। उसले जीवनमा भोगेको घटना गम्भीर थियो। तर, मेरो लागि १७ वर्ष नभेटेको साथी भेट्ने मौका थियो। 

उमेरले उसले ३३ को नेटो काटिसकेको छ। यहाँ आएर उसले कार्ड पनि बनाइसकेको छ। उसले यसको जानकारी आफ्नो बुवालाई पनि दिइसकेको छ । उसको कुरा सुनेपछि मलाई लाग्यो– गाउँमा बसेर बिदेशमा सोचे जस्तो पक्कै छैन। गाउँघरमा विदेशमा बसोबास गर्ने, पिआर भएका, कार्डधारी तथा एजु भएकालाई हेर्ने दृष्टिकोण फरक छ। 

तर, यो गलत हो। आफ्नै देशमा केही गर्न खोज्नेलाई कसैले हौसला दिँदैनन्। १० वटा बाख्रा किन्छु, व्यवसाय गर्छु, १ लाख ऋण देऊ भन्दा कसैले पत्याउँदैन। तर, बिदेश युरोप र अमेरिका जान्छु भन्दा १०–१५ लाख रुपैयाँ त्यति कै ऋण दिन्छन्।       

प्रकाशित मिति: : 2020-12-07 09:24:00

प्रतिकृया दिनुहोस्