टि–२० क्रिकेटः भारतको ११ खेलको अपराजित यात्रा समाप्त

बिएल संवाददाता

काठमाडाै‌ं

बिस्फोटक ब्याट्सम्यान ग्लेन मेक्सवेलको तीन वटा क्याच ड्रप गर्नु भारतका लागि तेस्रो तथा अन्तिम टि–२० खेल महंगो सावित भएको छ। 

मंगलबार भारतका लागि अस्ट्रेलियाविरूद्ध टि–२० शृंखला क्लिन स्विप गर्ने सुनौलो अवसर थियो। 

तर, अघिल्लो दुई खेल लगातार जितेको भारत अन्तिम खेलमा १२ रनले पराजित भयो। 

सिड्नी क्रिकेट मैदानमा टस हारेर पनि घरेलु कंगारु टोलीले पहिलो ब्याटिङ गर्ने क्रममा १ सय ८७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर, भारतीय टोलीले ७ विकेट गुमाउँदै १ सय ७४ रन मात्र बनाउन सक्यो। 

भारतको हारमा तीन वटा जीवनदान पाएका मेक्सवेलले ५४ रन बनाए। भारतीय कप्तान विराट कोहलीले ६१ लमा सबैभन्दा बढी ८५ रन बनाए पनि त्यो काम लागेन। उनको टि–२० मा २५ औं अर्धसतक थियो। अस्ट्रेलियाका लागि मिचेल स्वेप्सनले ३ विकेट लिए। 

सन् २००८ देखि अस्ट्रेलियासँग टि–२० को शृंखला जित्दै आएको भारतले यसपालि पनि २–१ ले शृंखला आफ्नो नाममा लेखायो। 

भारतले ११ खेलपछि टि–२० मा पहिलो हार बेहोरेको हो। यसअघि लगातार ११ खेल जितेको थियो। भारतीय कप्तान कोहलीले पनि दुई जीवनदान पाएका थिए। तर, त्यसको उपयोग गर्न सकेनन्।

खेलको म्यान अफ दि सिरिज हार्दिक पाण्ड्यालाई घोषित गरियो। अस्ट्रेलियाले पहिलो इनिङमा पाँच विकेटको क्षतिमा १ सय ८६ रन बनाउँदा म्याथ्य वेडले ५३ बलमा ८० रन बनाएका थिए। मेक्सवेलले अर्धसतक बनाउन ३६ बल खर्चेका थिए।

प्रकाशित मिति: : 2020-12-08 22:54:00

प्रतिकृया दिनुहोस्