सगरमाथाको नयाँ उचाइ नेपाल–चीन सम्बन्धको नयाँ ‘माइलस्टोन’: चीन

बिएल संवाददाता

काठमाडाै‌ं

चीनले मंगलबार घोषणा गरिएको सगरमाथाको नयाँ उचाइ नेपाल–चीन सम्बन्धको नयाँ ‘माइलस्टोन’ भएको प्रतिक्रिया दिएको छ।

चिनियाँ विदेश मन्त्रालयमा उचाइ घोषणा भएको एक दिनपछि आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता झाओ लिजियानले उक्त कुरा बताएका हुन्।

उनले भने,‘ संसार नै कोरोना भाइरसले अति प्रभावित भइरहेको समयमा सगरमाथाको नयाँ उचाइको समाचारले नयाँ आशाको संचार गरेको छ । नेपाली पक्षले उल्लेख गरेझै हाम्रो मित्रवत सम्बन्ध हिउँजस्तै पवित्र र हिमालजस्तै विशाल रुपमा विकास हुनेछ।’ 

नेपाल र चीनले सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर भएको घोषणा गरेको थियो।

नयाँ उचाइ यसअघि नेपालले मानिआएको उचाइभन्दा ८६ सेन्टिमिटरले बढी छ। चीनले भने यसअघि सगरमाथाको उचाइ ८,८४४.३३ मिटर रहेको बताउँदै आएको थियो, जुन उस्का अनुसार चट्टानको उचाइ थियो।

उनले अनेकौं प्रतिकुलताका बाबजुद पनि दुवै पक्षले विगत एक वर्षमा गरेको कठिन कामको प्रतिफलको रुपमा नयाँ उचाई घोषणा भएको समेत बताए ।

यस्तै उनले इकोलोजी र वातावरणको संरक्षणलाई सुदृढ बनाउन र अन्य अनुसन्धानका लागि नेपालसँग सहकार्य गर्न आफूहरु इच्छुक रहेको समेत बताए।

उनले  भने,‘ चिनियाँ पक्ष अन्य अनुसन्धानका लागि नेपालसँग सहकार्य गर्न तयार छ । यो अमूल्य सम्पत्ति र दुवै देशका जनताले शेयर गरेको होमल्याण्डको रक्षाका लागि सहकार्य गर्न तयार छौं।’

नेपालले सगरमाथाको उचाइ नापेको यो पहिलो पटक हो। सगरमाथापछिको सबैभन्दा अग्लो हिमाल केटुको उचाइ ८,६११ मिटर रहेको छ जुन पाकिस्तान(चीन सिमामा पर्दछ।

प्रकाशित मिति: : 2020-12-09 19:27:00

प्रतिकृया दिनुहोस्