किसानभन्दा पनि व्यापारीसँग धान किन्दै सरकार, मौका छोपेर ट्राफिक प्रहरीको अवैध असुली !

लोकान्तर

जनकपुरधाम

अजय अनुरागी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जनकपुरधामस्थित प्रादेशिक कार्यालयले मंसिर १९ गतेदेखि धान किन्न शुरू गरेको छ । नेपाल सरकारले चालू आर्थिक वर्ष २०७७/०७८ का लागि सोना मन्सुलीको समर्थन मूल्य २ हजार ८८५ रुपैयाँ प्रति क्विन्टल निर्धारण गरेको थियो । सोही मूल्यमा धान खरिदको काम शुरू भएको उक्त कार्यालयका निमित्त प्रादेशिक प्रमुख गंगाप्रसाद साहले बताए ।

किसानहरू भन्दा पनि व्यापारीहरूको धान नै बढी किन्ने गरिएको छ । ‘प्रादेशिक प्रमुख साहले कमिसन लिएर वास्तविक किसानहरूभन्दा पनि व्यापारीहरूकै धान किनिरहेका छन्,’ धान बेच्न पुगेका ७० वर्षीय किसान रामसागर यादवले भने, ‘यहाँ धान बेच्न आउनेहरूमा १५ प्रतिशत जति मात्र वास्तविक किसान हुन्, बाँकी ८५ प्रतिशत जति त व्यापारी नै हुन् ।’

धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर १ सहनीका यादवले आफ्नो खेतमा उब्जाएको धान बेच्न त्यहाँ पुगेका थिए । 

बजारको मूल्यभन्दा बढी नै दाम दिएर सरकारले धान किनेकोमा सरकारलाई धन्यवाद दिँदै उनले समयमा रासायनिक मल नदिएकोमा सरकारप्रति गुनासो पनि उनले गरे । 

‘नेपाल सरकारले धान उत्पादन गर्ने बेला मल उपलब्ध गराउन सकेनन्, सशस्त्र प्रहरीलाई पैसा खुवाएर भारतबाट जसोतसो मल ल्याएर धान त उब्जायौँ,’ उनले भने, ‘तर, अहिले गहुँ खेतीको लागि बिउ छर्ने बेलामा नै रासायनिक मल आवश्यक भए पनि आपूर्ति गराउन सकेको छैन ।’ 

एकातर्फ नेपाल सरकारले मल पनि दिँदैन अर्कातर्फ भारतबाट मल किनेर ल्याउँदा बोर्डरमा रहेको सशस्त्र प्रहरीले मल खोसेर भन्सारलाई बुझाइदिने भन्दै पैसा माग्ने गरेको उनीसँगै त्यहाँ उपस्थित रहेका धेरैजसो किसानको एउटै भनाइ थियो ।

प्रकाशित मिति: : 2020-12-10 11:58:00

प्रतिकृया दिनुहोस्