डि कक अब अफ्रिकी टेस्ट टिमका कप्तान

बिएल संवाददाता

काठमाडाै‌ं

दक्षिण अफ्रिकाले आफ्नो प्रभावशाली विकेटकिपर ब्याट्सम्यान क्विन्टन डि ककलाई टेस्ट कप्तान नियुक्त गरेको छ। उनी २०२०–२१ सिजनका लागि कप्तान नियुक्त भएका छन्। डि कक श्रीलंका, पाकिस्तान र अस्ट्रेलियाविरूद्धको शृंखलाका लागि कप्तान नियुक्त भएका हुन्। 

अफ्रिकाले उनको नेतृत्वमा श्रीलंकाविरूद्ध २ टेस्ट शृंखलाको लागि टिमको छनोट पनि गरेको छ। टेस्ट बक्सिङ डे र नयाँ सालको बीचमा हुनेछ। यसपछि अफ्रिकाले टेस्ट च्याम्पियनसिपमा भाग लिनेछ। 

डि ककको कप्तानीमा छनोट भएको टिममा सालेर इर्वी, ग्लेन्टन स्टरमेन र काइल भेरियनेले स्थान पाएका छन्। यस्तै, वियान मल्डर चोटबाट ठिक भएर टिममा फर्किदैछन्। कगिसो रवाडा र ड्वेन प्रिटोरियस चोटका कारण टिममा समावेश छैनन्। उनीहरूलाई वैकल्पिकमा राखिएको छ। 

डि ककले अफ्रिकाका लागि ४७ टेस्ट खेलिसकेका छन्। जसमा उनको औसत ३९ दशमलव १२ छ। उनले २९ सय ३४ रन बनाएका छन्। जसमा ५ सतक र २१ अर्धसतक समावेश छ।

उनले १२१ एकदिवसीयमा ५१ सय ३५ रन बनाएका छन् भने ४७ टि–२० मा १३ सय ३ रन बनाएका छन्। डि कक पहिलेदेखि अफ्रिकाको एकदिवसीय र टि–२० को कप्तान हुन्। 

अफ्रिकी टिमः डि कक (कप्तान), तेम्बा बाबुमा, एडेन मार्कराम, फाफ डु प्लेसिस, ब्युरन हेन्ड्रिक्स, डिन एल्गर, केशव महाराज, लुंगी एनगिडी, रासी भान डर डसेन, सारेल इर्वी, एनरिक नोर्तजे, ग्लेन्टन स्टरमेन, भियान मल्डर, किगन पिटरसन, काइल भेरियने।

प्रकाशित मिति: : 2020-12-12 10:33:00

प्रतिकृया दिनुहोस्