नेपाल एयरलाइन्सकाे हङकङ उडानमा कडाइ, दिल्ली उड्न पनि ७२ घण्टे पीसीआर रिपोर्ट पेश गर्नुपर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल एयरलाइन्सले हङकङ उडानमा कडाइ गर्ने भएको छ।

नेपालबाट उडाइएको यात्रुको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आउपछि चौथो प्रतिबन्ध लगाएपछि उडानमा कडाइ गर्न लागिएको हो। 

अब हङकङ यात्राका लागि अधिकतम ४८ घण्टाभित्र पीसीआर रिर्पोट नेगेटिभ चाहिने छ।

यसअघि ७२ घण्टाभित्र पीसीआर रिर्पोट नेगेटिभ आएकाहरुलाई यात्रा अनुमति दिइएको थियो। 

यसअघि निगमको उडानमा हङकङले पहिलो १५ दिन उडानमा प्रतिबन्ध लगाएको थियो। हङकङले पछिल्लो पटक १० मंसिरसम्मलाई उडानमा प्रतिबन्ध लगाएको थियो।

त्यसपछि पनि उडाइएको यात्रुमा कोरोना पुष्टि भएपछि  निगमको उडान १४ मंसिरसम्म तेस्रो पटक प्रतिबन्ध लगाइएको थियो।

मंसिर १५ गतेनिगमको जहाज २५१ जना यात्रु बोकेर हङकङ गएको थियो।

ती यात्रुमध्ये पाँच जनामा कोरोना पोजिटिभ देखिएको थियो। एक जनाको भने स्पष्ट रिपोर्ट आउन नसकेको निगमले जनाएको छ। 

पटक पटक हङकङ पुगेका यात्रुमा कोरोना  देखिएपछि चौथो पटक १५ दिनका लागि उडानमा प्रतिबन्ध लगाएको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए।

मिश्रका अनुसार, हङकङ सिभिल एभिएसनको नियम बमोजिम पोजिटिभ यात्रु भित्र्याउने वायुसेवालाई १५ दिन उडानमा प्रतिबन्ध लगाइएको हो। यो कारबाही अनुसार निगमले आगामी २ पुससम्म हङकङमा उडान गर्न पाउने छैन।

निगमले सरकारी प्रयोगशालाको रिपोर्टलाई मात्रै मान्यता दिएर हङकङ उडान गरेको थियो। तर, सरकारी प्रयोगशालाको नेगेटिभ रिपोर्ट समेत हङकङमा पोजिटिभ देखिएको छ। 

छानबिनका क्रममा प्रयोगशालामा कुनै कमजोर नभेटाएपछि एयरलाइन्स यात्रुमाथि नै कडाइ गर्ने निष्कर्षमा पुगेको छ। पीसीआर टेष्टका लागि स्वाब दिएपछि रिपोर्ट नआउँदासम्म आइसोलेसनमा बस्नुपर्ने लगायतका मापदण्ड पालना नगर्दा हङकङ पुगेपछि संक्रमण पुष्टि भएको हुनसक्ने एयरलाइन्सको अनुमान छ।

काठमाडौं–दिल्ली रुटम नियमित हवाई उडान

कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालनमा आएको छ।

आगामी बिहीबारबाट काठमाडौं–दिल्ली रुटममा एयर ट्रान्सपोर्ट बबल स्कीममार्फत दिल्ली काठमाडौं नेपाल एयरलाइन्स र एयर इण्डियाको नियमित हवाई उडान सुरु हुन लागेको हो। 

नेपाल एयरलाइन्सले काठमाडौंबाट दिल्ली एक उडान र इण्डियन एयरले दिल्लीबाट काठमाडौं एक उडान भर्नेछन्। 

यसका लागि नेपाल एयरलाइन्सले टिकट बिक्री थालेको छ। एयरलाइन्सका अनुसार काठमाडौंबाट दैनिक एक जहाज दिल्ली जाने छ र दिल्लीबाट यात्रुलाई काठमाडौं फर्किनेछ।

यी उडानमा नेपालतर्फ यात्रुले ७२ घण्टे पीसीआर रिपोर्ट पेश गर्नुपर्नेछ भने भारतबाट आउँदा त्यहाँ अनलाइन फाराम भर्नुपर्ने प्रावधान छ।

भारतसहित नेपालबाट हुने सबै अन्तरराष्ट्रिय गन्तब्यमा उडान खुला गरिएको प्राधिकरणले जनाएको छ। 

अहिले बङ्गलादेश, भूटान र थाइल्याण्डले काठमाडौं उडान गरेका छैनन् अरु सबै गन्तब्यमा उडान सञ्चालन भइरहेको छ। 

नेपालका तीनसहित २९ वायुसेवा प्रदायक कम्पनीले १६ मुलुकका गन्तव्यमा अन्तररष्ट्रिय उडान भर्दै आएका छन्। 

प्रकाशित मिति: : 2020-12-14 12:01:00

प्रतिकृया दिनुहोस्