सभामुख संवैधानिक परिषद् बैठकमा नजानु पदअनुकूलको व्यवहार होइन: तारानाथ रानाभाट, पूर्व सभामुख

बिएल संवाददाता

काठमाडाै‌ं

पूर्वसभामुख तारानाथ रानाभाटले सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक परिषद्को बैठकमा नजानु पदअनुकूलको व्यवहार नभएको बताएका छन्। 

बिएल नेपाली सेवासँगको कुराकानीमा उनले ‘जनप्रतिनिधिमूलक संस्थाको गरिमामाथि नै आँच पुग्ने व्यवहार’ गरेको पनि बताए । 

संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानबमोजिम डाकेको परिषद् बैठकमा लगातार दुई पटक सभामुख सापकोटा अनुपस्थित भइसकेका छन् । 

सभामुख सापकोटा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर हुन् । उनी पार्टीभित्र पर्याप्त छलफल नगरी प्रधानमन्त्री ओलीले एकपक्षीय रुपमा संवैधानिक नियुक्ति गर्न खोजेको आशंकामा बैठकमा अनुपस्थित हुँदै आएका छन् ।

पूर्वसभामुख रानाभाट सभामुखले त्यसो गर्न नमिल्ने बताउँछन् । ‘जनता आक्रान्त छन्, देश समस्या ग्रस्त छ’, उनले भने, ‘यस्तो बेलामा सबै दलका जनप्रतिनिधिको अविभावक भनेर काम गर्नुपर्ने बेलामा पार्टीभित्रको पनि एउटा गुट समाएर सभामुख अघि बढ्नु दुःखद् कुरा हो ।’

प्रधानमन्त्री ओलीले नियुक्तिका लागि पर्याप्त गृहकार्य नगरेको भए पनि बैठकमै नजानु गतल भएको उनले बताए । ‘संवैधानिक परिषद्मा गएर छलफल गर्नुपर्छ, गृहकार्य नपुगेको भए निर्णय नगर्न सकिन्छ तर बैठकमै नजान मिल्दैन’, उनले भने, ‘यसो गरेर पनि सभामुखको आसनमा बस्न सुहाउँछ ?’

संवैधानिक परिषद्ले नियुक्त गर्ने संवैधानिक अंगहरु खाली गरेर राख्न नमिल्ने बताउँदै पूर्वसभामुख रानाभाटले प्रजातान्त्रिक राजनीतिक व्यवस्था सबल बनाउन संवैधानिक अंगहरु बलियो हुनुपर्ने बताए । 

उनले प्रमुख प्रतिपक्षी दल कांग्रेसको भूमिकामा समेत असन्तुष्टि पोखे । ‘प्रमुख प्रतिपक्षी पनि सरकार बनाउँछु भनेरै सरकारमा गएको हो’, उनले भने, ‘प्रमुख प्रतिपक्षी नेता पनि जानुपर्छ, सभामुख पनि जानुपर्छ ।’

संवैधानिक परिषद् नै अहिलेसम्म पूर्णता नदिएकोमा उनले आपत्ति जनाए । ‘उपसभामुख अझै निर्वाचित गरेको छैन, यसरी राख्न मिल्दैन’, उनले भने, ‘सभामुख पार्टीभन्दा माथि हुनुपर्छ । सभामुखको व्यवहारले जनताकै अवमूल्यन गरेको छ ।’

प्रकाशित मिति: : 2020-12-15 15:01:00

प्रतिकृया दिनुहोस्