शीतलनिवासबाट खुमलटारतिर प्रधानमन्त्री ओलीको ‘यू टर्न’

अनलाइनखबर

काठमाडाैं

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एकाएक ‘यु टर्न’ भएका छन् । पछिल्लो साता निरन्तर राष्ट्रपति कार्यालय शीतलनिवासतिर धाउँदै आएका प्रधानमन्त्री ओली शनिबार बिहान एकाएक प्रचण्डनिवास खुमलटार पुगे ।

खुमलबाटारबाट निस्किएपछि प्रधानमन्त्री ओलीले पुल्चोकस्थित मन्त्रिनिवासमा गृहमन्त्री रामबहादुर थापा बादलसँग पनि केहीबेर भेट गरेका थिए । बालुवाटार फर्किँदा बाटामा परेको हुनाले प्रधानमन्त्री ओली बादलको निवासमा पसेको स्रोतले बतायो । 

प्रचण्डले सचिवालयमा दर्ता गरेको र हाल स्थायी कमिटीमा पुगेको लाञ्छनापत्र फिर्ता नहुँदासम्म बैठकमा समेत सहभागी नहुने बताउँदै आएका प्रधानमन्त्री ओलीले यसरी प्रचण्डको निवासमै पुगेर सम्वादको थालनी गर्नुलाई उनको सकारात्मक कदम मान्नुपर्ने नेकपा नेताहरु बताउँछन् । तर, पार्टीभित्र चर्किएको पत्रयुद्धपछि प्रचण्डले आफूमाथि फौजदारी आरोप लगाएको र आत्मालोचना मात्र गरेर नपुग्ने बताउँदै आएका प्रधानमन्त्री ओली एकाएक प्रचण्डप्रति नरम देखिनुका पछाडि केही राजनीतिक परिघटना कारकका रुपमा देखिएका छन् ।

प्रचण्डको प्रस्ताव फिर्ता नभई बैठकमा सहभागी नहुने बताएका प्रधानमन्त्री ओली शनिबार नेताहरुको निवासमा किन गए ? यसबारे चर्चा गर्नुभन्दा पहिले शनिबार बिहान खुमलटारमा भएको भेटबारे चर्चा गरौं ।

प्रधानमन्त्री ओलीसँगको छलफलबारे प्रचण्डको सचिवालयले खासै केही बताउन मानेको छैन । खुमलटार स्रोतले भन्यो, ‘यो बालुवाटारमा हुँदै आएको छलफलकै निरन्तरता मात्र हो । आज पनि प्रधानमन्त्री ओलीले प्रचण्डलाई प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभयो, प्रचण्डले बैठकमा पेश भइसकेकाले जे गर्ने हो, बैठकबाटै गरौं भन्नुभयो ।’

प्रचण्डलाई भेट्न पुगेका प्रधानमन्त्री ओली केही पनि नखाई फर्किए । चिकित्सकको सल्लाहअनुसार बाहिर केही नखानू भनेको हुनाले पानीसमेत आफैंले बोकेर ल्याएको प्रधानमन्त्रीले बताएका थिए ।

प्रधानमन्त्री ओली ११ बजेर केही मिनेटमा खुमलटार पुगेका थिए भने त्यसको १५ मिनेटपछि उपाध्यक्ष वामदेव गौतम पुगेका थिए । तीन नेतावीच करिब एक घण्टा कुराकानी भएको थियो ।

प्रकाशित मिति: : 2020-12-19 16:03:00

प्रतिकृया दिनुहोस्