पार्टी फुटको साक्षी बस्न दुबै पक्षसँग जाँदिनँ: वामदेव गौतम

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटको साक्षी बस्न कतै नजाने बताएका छन्। अझै आफू एकताको पक्षमा भएको भन्दै संसद भंगको विरुद्धमा रहेको समेत बताएका छन्। 

आइतबार गौतमको सचिवालयले एक प्रेस नोट जारी गर्दै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीलाई फोन गरेर मन्त्रिपरिषद्ले संसद भंग र मध्यवधी निर्वाचनको सिफारिस गरेपछि रोक्न आग्रह गरेको समेत स्मरण गरेका छन्।

‘मैले टेलिफोनबाटै त्यस्तो सिफारिस स्वीकृत नगर्नुस् भन्न चाहेको थिएँ। तर, उहाँसँग कुरा गर्न सम्भव भएन। यदि उहाँले मन्त्रिपरिषद्को सिफारिस बमोजिमको विषयलाई जारी गर्नुभयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ। उहाँले यसलाई एकपटक मन्त्रिपरिषद्मै फर्काइदिन उपयुक्त हुन्छ। यसका निम्ति मेरो विनम्र अनुरोध छ,’ उनले भनेका छन्। 

तर, राष्ट्रपतिले विज्ञप्तिमार्फत मन्त्रिपरिषद्को सिफारिसलाई स्वीकृत गर्नु दुःखद् घटना भएको गौतले बताएका छन्। 

‘संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गैर संवैधानिक कदम हो भन्ने धारणासहित मैले आइतबार नै विज्ञप्ति जारी गरेँ,’ उनले भने।

यस्तै अब फुटको घोषणा गर्नमात्रै बाँकी रहेका बैठक, भेलामा भाग नलिने निर्णय गरेको गौतमले जनाए। 

‘फेरि पनि पार्टी एकताको पक्षमा छु। त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म म पार्टी एकीकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमै रहनेछु। दुबैतिरका भेलामा मेरो उपस्थिति हुँदैन। मैले पहिले पनि गुटहरुको भेलामा नजाने भन्दै आएको हुँ,’ उनले भने।  
 

प्रकाशित मिति: : 2020-12-21 16:38:00

प्रतिकृया दिनुहोस्