अमेरिकामा नौ हजारभन्दा बढी नेपालीको भाग्य–परीक्षा ५ जनवरीमा

Photo: Asian American Writers’ Workshop)
Photo: Asian American Writers’ Workshop)

डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेनले राष्ट्रपतिको चुनाव जितेपछि बाल्यकालमा अमेरिकामा आएका कागजपत्रबिहिनलाई संरक्षण गर्न प्रदान गरिएको डाका कार्यक्रम र असाइलमलगायतका स्ट्याट्समा अब के हुन्छ भन्ने खुलदुली नेपालीहरुमा बढेको छ।  

वाइडेनले चुनावअघि नै टीपीएसअन्तर्गत कागजपत्र नभएका करिब एक करोड १० लाख मानिसलाई ग्रीनकार्ड हुँदै नागरिकता प्रदान गर्ने उद्घोष गरेका थिए। 

जनवरी २० मा वाइडेनले राष्ट्रपतिको सपथ लिँदैछन्। त्यसअघि अमेरिकामा आफ्नो भविष्य के हुन्छ भन्ने चासो अहिले अमेरिकामा कागजपत्रबिहिन भएर बसेकाहरुमा पाइन्छ। 

उनीहरु यतिबेला किन बेग्र छन् भन्ने बुझ्न आउँदो जनवरी ५ मा जर्जियामा सिनेटरको दुई सिटका लागि हुने मतदानको समीकरणलाई बुझ्न जरुरी छ। हाल सिनेटमा रिपब्लिकन पार्टीको ५० सिट र डेमोक्र्याटिक पार्टीको ४८ सिट छ। 

जर्जियामा दुई सिटका लागि हुने चुनावमा डेमोक्रेटिक पार्टीले जितेको खण्डमा सिनेटमा दुवै पार्टीको मत ५०–५० प्रतिशत हुनेछ। यस्तो अवस्थामा डेमोक्रेटिक पार्टीलाई आफू अनुकुलको कानुन सिनेटबाट पास गर्न सहज हुनेछ। तर, जर्जियाको चुनावमा डेमोक्रेटिक पार्टीले एक सिटमात्र जिते वा दुवै सिट हारेमा वाइडेनको सवै योजना चकनाचुर हुनेछ। 

राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेको पहिलो दिन नै वाइडेनले अमेरिकामा रहेका झन्डै एक करोड १० लाख कागजपत्रबिहिनलाई कानुनी दायरामा ल्याउने बिल सदनमा पेस गर्ने बताएका थिए। यो उनको मतदातासँग गरेको प्रतिबद्धताको विश्वसनियता थियो।

कागजपत्रबिहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने बिल संसदको तल्लो सदन प्रतिनिधिसभा (हाउस अफ रिप्रिजेण्टेटिभ) मा पहिले पेश गरिने छ। प्रतिनिधिसभामा डेमोक्र्याटहरुको बहुमत भएकोले वाइडेनलाई प्रतिनिधिसभाबाट यो कानुन पारित गर्न कुनै समस्या हुनेछैन तर सिनेटमा बहुमत नपुगेको खण्डमा उनले आफ्नो अभियानबाट पछि हट्नु पर्नेछ।  त्यसैले अहिले दुवै पार्टीको आँखा जर्जियाको दुई सिटमा गएर अडिएको छ।

जर्जियाको दुईवटै वा दुईवटामध्ये एउटा सिट जितेको खण्डमा रिपब्लिकन पार्टीको सिनेटमा बहुमत कायम हुनेछ र वाइडेनको अध्यागमन सम्बन्धी धेरै योजना तुहिने पक्का छ। 

त्यसैले हाल दुवै पार्टीको सम्पूर्ण उर्जा जर्जियाको चुनावमा खर्च भइरहेको छ। यदी यो चुनावको दुवै सिट डेमोक्रेटिक पार्टीले जितेमा डाका अन्तर्गत रहेका करिब ६० जना र टीपीएसअन्तर्गत करिब ९ हजार नेपाली पनि निश्चित मापदण्ड पुरा गरेर ग्रीनकार्ड हुँदै नागरिकताको बाटोमा पुग्ने छन्। 

यदी सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत सिद्ध भएमा डोनाल्ड ट्रम्पले रोक्न खोजेको अध्यागमन सम्बन्धी धेरै नियम कानुन खारेज हुनेछन् र कामदार भिसा र असाइलमका प्रावधान पनि खुकुलो हुने आशा गरिएको छ।
 

प्रकाशित मिति: : 2020-12-22 19:50:00

प्रतिकृया दिनुहोस्