ओलीको चुनावी योजना : ५० लाख मत, १२० सिट

राजधानी दैनिक

काठमाडाैं

काठमाडौं । प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा भइसकेको अवस्थामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले चुनावी योजना सार्वजनिक गरेका छन् ।

मंगलबार आफू निकट केन्द्रीय कमिटीका सदस्यको बैठकमा प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा कम्तीमा ५० लाख लोकप्रिय भोट ल्याउने गरी चुनावी अभियान थालिने बताएका हुन् । उनले सो निर्वाचनमा समानुपातिकतर्फ ५० लाख भोट ल्याउने गरी निर्वाचन अभियान थाल्न सम्पूर्ण केन्द्रीय सदस्य र आफ्ना कार्यकर्तालाई निर्देशनसमेत दिए । उनले प्रत्यक्षतर्फ कम्तीमा १२० सिट ल्याउने गरी चुनावी अभियानलाई व्यवस्थित पारिने योजनासमेत सुनाए ।

‘हामीले गत निर्वाचनमा दुई पार्टी मिलेर १ सय १६ सिट ल्याएका थियौं । अब नेकपा एक्लैले १ सय २० सिट ल्याउने गरी चुनावी माहोल सिर्जना गर्नेछौं,’ प्रधानमन्त्री ओलीले भने ।

उनले निर्वाचनकै क्रममा आँधीबेहरीका रूपमा राष्ट्रिय राजनीतिलाई अगाडि बढाउने उद्घोष गरे । ‘आँधीतुफानका रूपमा पार्टीलाई अगाडि लिएर जाँदै छौं । हामी राजनीतिमा सम्पूर्ण ढंगले समर्पित भएर काम गर्छौं । सही विचार र उद्देश्यको तागत दुनियाँलाई देखाउँछौं,’ प्रधानमन्त्री ओलीले भने । उनले यसका लागि व्यापक रूपमा पार्टी पंक्ति परिचालन गरिने जनाए ।

‘देशभक्तिमा के तागत हुन्छ ? राष्ट्रवादमा के तागत हुन्छ ? राष्ट्रिय स्वाभिमानमा के तागत हुन्छ ? अब हामी देखाइदिनेछांै,’ प्रधानमन्त्री ओलीले भने ।

उनले स्वच्छता कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र निर्मूल गर्ने, सुशासन र शान्ति कायम गर्ने नीति तथा व्यवहारको तागतले पनि निर्वाचनमा सहजै जित हासिल हुने दाबी गरे ।

प्रकाशित मिति: : 2020-12-23 08:32:00

प्रतिकृया दिनुहोस्