२५ वाणिज्य बैङ्कको लाभांश प्रस्ताव : कुन बैङ्कको कति ? (विवरणसहित)

रातोपाटी

काठमाडाैं

काठमाडौं । २५ वाणिज्य बैङ्कले चालु यस वर्षको लाभांश घोषणा गरेका छन् । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ती बैङ्कहरुले शेयरधनीलाई दिने प्रतिफलको घोषणा गरेका हुन् । अब राष्ट्रिय वाणिज्य बैङ्क र सिभिल बैङ्क समेत दुईवटा बैङ्कले मात्रै लाभांश घोषणा गर्न बाँकी छ । त्यसमध्ये सिभिल बैङ्कको मात्रै दोस्रो बजारमा सूचीकृत कम्पनी हो । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले सर्वसाधारणलाई हालसम्म सेयर निष्कासन गरेको छैन ।

२५ वाणिज्य बैङ्कहरुले हालसम्म कुल ३८ अर्ब ४६ करोड रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेका छन् । प्रस्तावित लाभांशमध्ये ३० अर्ब ७९ करोड रुपैयाँ बराबर बोनस सेयर र ७ अर्ब ६७ करोड रुपैयाँ बराबरको नगद लाभांशको रहेका छन् । नगद लाभांशमा कृषि विकास बैङ्कले जारी गरेको ६ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयरमा दिइने लाभांश समेत जोडिएको छ । यो सेयरको लाभांश ६ प्रतिशत तोकिएको छ । सरकारले लगानी गरेको उक्त सेयरमा कृषि विकास बैङ्कले वार्षिक रुपमा ३६ करोड रुपैयाँ सरकारलाई बुझाउँछ ।

बोनस सेयरलाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैङ्कको नीतिसँगै यो वर्ष कुल लाभांशको करिब ८१ प्रतिशत बोनस सेयर दिइएको छ । राष्ट्र बैङ्कले बैङ्कहरुलाई कुल लाभांशको ३० प्रतिशत भन्दा बढी नगल लाभांश दिन नपाउने व्यवस्था गरेको थियो । यसअनुसार ३८ अर्ब ४६ करोडको लाभांशमध्ये ३० अर्ब ७८ करोड लाभांश थपिएको हो ।

अघिल्लो वर्ष सञ्चालनमा रहेका २८ वाणिज्य बैङ्कहरुले ४६ अर्ब २८ करोड लाभांश दिएका थिए । यो लाभांशमध्ये करिब २० अर्ब ८१ करोड रुपैयाँ बराबरको बोनस सेयर थियो । यो कुल लाभांशको करिब ४५ प्रतिशत मात्रै हो । बाँकी ५५ प्रतिशत बराबर हुने २५ अर्ब ४७ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गरिएको थियो ।

प्रकाशित मिति: : 2020-12-23 08:54:00

प्रतिकृया दिनुहोस्