प्रचण्डले बादलबारे भने, ‘यता आउन तयार पारेको भाषण उता गर्नु भएछ’

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड) अध्यक्ष पुष्पकमल दाहालले रामबहादुर थापा बादल झुक्किएर ओली समूहमा पुगेको दाबी गरेका छन्। 

पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कता जाने भन्ने व्यक्तिको विवेक हो। तर बादलले गरेको भाषण सुन्दा ‘यता आउन तयार पारेको भाषण उता गर्नु भएछ’ भन्ने जस्तो लाग्यो। 

गृहमन्त्री बादल बिहीबार केपी शर्मा ओलीलाई साथ दिन पुगेका थिए। 

उनले बादल आफ्नो पक्षमा फर्किनेमा पनि आशा व्यक्त गरे। 

यस्तै उनले प्रधानमन्त्री ओलीले जे–जे भने खुरूखुरू मान्नु आफ्नो भुल भएको समेत बताए। 

‘बेलाबेलामा गल्ती गर्दै फेरि स्वीकारेर जाने मेरो स्वभाव हो। एउटा बैठकमा उहाँले मेरो कुर्सी पछाडि सारिदिनुभयो। तर मैले उहाँसँग गुनासो गरिनँ। यही स्वभावका कारण यसपालि पनि मबाट भूल भयो,’ उनले भने। 
 
यस्तै उनले संविधानको मर्म र भावना अनुसार प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वाेच्च अदालतले असंवैधानिक छ भन्ने फैसला गर्छ भन्ने विश्वास लिएको समेत बताए।

‘यो मुद्दा अदालतसँगै जनता र सडकमा गएको छ। हाम्रो पार्टी पनि सडकमा आएको छ। अरु दलसँग मिलेर संयुक्त संघर्ष गर्ने तयारीमा पनि हामी रहेका छौं। तर, अदालतप्रति हाम्रो भरोसा यथावत् छ,’ उनले भने। 

प्रकाशित मिति: : 2020-12-25 16:16:00

प्रतिकृया दिनुहोस्