जलजलाका सबै सामुदायिक विद्यालयमा दिवा खाजा

सांकेतिक तस्बिर

पर्वतको जलजला गाउँपालिकाले  सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरुआत गर्नेभएको छ।

गाउँपालिकाभित्रका ४४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत शिशुतहदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई यही पुसमहिनादेखि दिवा खाजा कार्यक्रम सञ्चालन गर्न लागिएको हो। 

सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउने र विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्ने वातावरणको सिर्जना गर्न कार्यक्रम अघि सारिएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए। 

कार्यक्रममा दैनिक रु १५ हजार भन्दा बढी लगानी गर्नुपर्ने अवस्था रहेको छ भने वार्षिक ५० लाख भन्दा बढी दिवा खाजामा खर्च हुने गाउँपालिकाले जनाएको छ। उनका अनुसार विद्यालय खुलेको दिनमा प्रति दिन रु १५ का दरले दिवा खाजा खुवाउने गरी गाउँपालिकाले आवश्यक तयारी गरेको छ। विद्यालय व्यवस्थापन समितिको निर्णयमा खाजा खुवाउने व्यवस्था गर्नुपर्ने र खाजा खुवाउदा आवश्यक मात्रा, स्वच्छता र पोषकतत्व सुनिश्चिततामा ध्यान पु¥याउनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए। 

अभिभावक, आमा समूह वा क्लब र अन्य व्यावसायिक लगायतको माध्यमवाट स्थानीयस्तरमा उत्पादित खाद्यान्न प्रयोग गरी दिवा खाजा खुवाउन सकिने जनाइएको छ। बजारमा किनिएका सामान र  पत्रु खान पूर्ण रुपमा निषेध गरिएको छ। विद्यालयले मासिक रुपमा खुवाएको खाजाको भुक्तानी आवश्यक बिल भरपाईको आधारमा गाउँपालिकाले भुक्तानी गर्ने उनले बताए। 

 गाउँपालिकामा सामुदायिक विद्यालय ४४ वटा रहेका छन्। तीमध्ये १० वटा मावि, चार वटा आधारभूत विद्यालय र अन्य ३० वटा प्रावि तहका विद्यालय रहेका छन्। दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई पूरै अवधि विद्यालयमा रहने वातावरण सिर्जना गर्नुका साथै अखाद्य वस्तु र पत्रु खानको प्रयोगमा कमी ल्याउने गाउँपालिकाका शिक्षा अधिकृत झलकनाथ आचार्यले जानकारी दिए। यस कार्यक्रमवाट झण्डै एक हजार भन्दा बढी विद्यार्थी लाभान्वित हुने भएका छन्। 

जिल्लामै पहिलो पटक जलजाल गाउँपालिकाले यस्तो कार्यक्रम शुरु गरेको हो। यसवाट निजी विद्यालयमा जस्तै विद्यार्थीको सिकाइस्तर र निरन्तरतामा वृद्धि हुने अपेक्षा गरिएको गरिएको छ। रासस 


 

प्रकाशित मिति: : 2020-12-27 14:08:00

प्रतिकृया दिनुहोस्