ओलीले तीन वर्ष गफ मात्रै हाँकेर बिताए: झलनाथ खनाल (भिडियाेसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड)का बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले तीन वर्ष गफ मात्रै हाँकेर बिताएको आरोप लगाएका छन्।

काठमाडौंमा मंगलबार संसद् विघटनको विरोधमा आयोजित सभामा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले प्रधानमन्त्री ओलीले मरिचमान सिंहले जति पनि काम नगरेको बताएका हुन्।

‘कहिले पानीजहाज ल्याउने गफ हाँक्नुभयो, घरघरमा ग्यास ल्याउने भन्नुभयो। खोइ घरघरमा ग्यास?’ खनालले भने, ‘यो तीन वर्ष ‘उहाँले तीन वर्ष गफैगाफ हाँकेर बिताउनुभयो। उहाँले तीन वर्षमा मरिचमानले गरेजति पनि गर्न सक्नुभएन।’

उनले विश्वलाई चकित पार्ने काम गरेको दाबी गर्ने गरेको तर जनतामा त्यसको प्रभाव नपरेको खनालले बताए।

‘तीन बजेट एवं नीति तथा कार्यक्रम ल्याउँदा पुँजीवादी ल्याएको र त्यसले जनताको दैनिक जीवनमा कुनै प्रभाव पारेन,’ उनले भने,‘तपाईंहरूमात्रै देख्नुहुन्न भन्नुहुन्थ्यो। धरहरा, रानीपोखरी बनाएको छु भन्नुहुन्थ्यो । तर रानीपोखरी धरहरा त सिकर्मीले बनाएका हुन्।’ 

उनले आशंका आशंकै बिचमा विश्वास गरेर प्रधानमन्त्री बनाएको समेत स्वीकार गरे। 

‘ओलीमाथि अलिअलि आशंका थियो तर विश्वास गरेर प्रधानमन्त्री बनायौँ। चौध वर्ष जेलमा बसेर आएको मान्छे पाकेकै होला भनेर नेता खडा गर्‍यौँ। अध्यक्ष पनि बनायौँ,’ खनालले भने।

तर उनले बालुवाटार पुगेको दिनदेखि नै पार्टी बिर्सिएको आरोप लगाए। ‘पार्टीलाई भर्‍याङ मात्र बनाउनुभयो। नीति बिर्सिनुभयो। एकलौटी ढंगले क्याबिनेट, योजना आयोग चलाउनुभयो। नीति तथा कार्यक्रम ल्याउनुभयो। अपार विश्वास गरेर प्रधानमन्त्री बनायौं, त्यसको दुरुपयोग गरेर संसद् विघटन गरे,’ उनले भने। 

प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था गरिएको कुरा कार्यान्वयन नगरेको उनले आरोप लगाए। 

‘उहाँले त मुलुकमा समाजवाद स्थापना गर्नतिर जानुपर्थ्यो । उहाँले तुइन विस्थापन गर्नुपर्थ्यो।तर उहाँले त्यसो गर्नुभएन । उहाँले ३ नीति तथा कार्यक्रम र बजेट ल्याउनुभयो ती पुँजीवादी थिए,’ उनले भने।

उनले सूर्य चिन्ह र नेकपा नाम आफूहरुले पाउने दाबी गरे। ‘आधिकारिक नेकपा हामी नै हौं। सूर्य चिन्‍ह र झन्डा हाम्रो हो,’ उनले भने।

प्रकाशित मिति: : 2020-12-29 15:24:00

प्रतिकृया दिनुहोस्