द्वन्द्व–कथा

‘सशस्त्र द्वन्द्व’को कहिल्यै नबिर्सने त्यो ज्यादती (भिडियाेसहित)

Breaknlinks
Breaknlinks

दुई दशकअघि मृत्युको मुखबाट फर्किएका हस्ते रोकामगर (७१) ‘हार्जङ नरसंहार’ सम्झेर अझैपनि बेलाबेला झस्किन्छन्। अतीत स्मरण गर्दा मन पोल्छ। उल्टै बर्बराउँछन्, उनी। दश वर्षे सशस्त्र द्वन्द्व सम्झियो कि पुरानो घाउ बल्झन्छ। सो घटनाले आजभोलि गफिन सक्दैनन्, तर मनको व्यथा भने संकेतले व्यक्त गर्छन्, उनी।

‘हार्जङ घटना’ वर्षौंअघिको रोल्पालीकाे मनबाट नमेटिने तीतो कथा हो। ०५५ सालतिरको त्यो युद्धकालिन जर्जर समय। हार्जङतिरै बन्दूक बोकेर हिँड्ने ती क्रूर ‘कमरेड’हरू। विद्रोही र राज्यपक्षको हिंसात्मक आतंक। अनि, अहिलेपनि मनमा दुखिरहने २६ फागुनको कहालीलाग्दो त्यो मध्यरात।

समय बित्दैछ। तर हस्तेको पीडा ज्यूँका त्यूँ छ। न भाग्छ, न लुकाउन नै मिल्छ। बाँच्दै जाँदा सबै कुरा छुट्छन्। छुट्नु जिन्दगीको नियति पनि हो। हिजो छुट्यो, आज सम्झन सकिन्छ। तर चोटहरू बिर्सन सकिँदैन। मनमा बिझाउने काँडा बनेर घोचिरहन्छ। उनी सम्झन मात्रै सक्छन्, त्यो झण्डै काल बनेको कथा। सकिनसकि भन्छन्– कसो ज्यान चाहिँ बचेछ।

माओवादी आन्दोलनभित्र हजारौँ गुणहरू होलान्। तर हस्तेसँग भने भारी गुनासो छ। बेदना र पीडाको समुन्द्र छ। ‘मलाई नै किन छानीछानी मरणासन्न हुनेगरी कुटियो ? ‘सशस्त्र द्वन्द्व’ले मेरो जिन्दगी बर्बाद बनायो। अपाङ्ग बनेँ। हिँड्नै नसक्ने भएँ। बोल्न पनि सक्दिनँ,’ उनले दुःखेसो पोख्दै भने?

आज पनि उनी घरछेउ वरिपरी लत्रिरहेका हुन्छन्, जहाँ दर्जनौं माओवादी कार्यकर्ताहरूले मर्नेगरी पालैपालो अन्धाधुन्ध पिटे। घरभित्र बसेका उनलाई लखेट्दै–लखेट्दै झाडीछेउ पुर्‍याए। लाठीलाठीले कुटे, ढाड भाँचिनेगरी पिटे। टाउकाेमाथि खुकुरी प्रहार गरे। अनि, मर्‍याे भन्ठानेर उनीहरू भागे। तर भाग्यमानी रहेछन्। धन्न बाँचे, उनी। शारीरिक र मानसिक यातना भोगेका छन्। त्यो पीडा, अनि हालत सम्झँदा जिन्दगीलाई बाँच्नुको मात्र सार्थकता ठान्दैनन्, हस्ते।

उनी राम्रोसँग बोल्न पनि सक्दैनन्। न हिँड्डुल गर्न नै सक्छन्। दुईवटै खुट्टा चल्दैनन्। शरीर झन्–झन् कमजोर हुँदै गएको छ। अर्काको सहाराबिना बोल्न–चल्न पनि धाै-धाै छ। माओवादी नेता–कार्यकर्ता तथा स्थानीय तहका जनप्रतिनिधिहरूले अहिलेसम्म उनको घर–आँगन टेकेका छैनन रे...।

उनी पूर्ण अपाङ्ग छन्। तर अपाङ्ग भत्ता पनि पाएका छैनन्। पटकपटक प्रयास गर्दा पनि स्थानीय सरकारले वास्ता नगरेको गुनासो छ। दश वर्षे सशस्त्र द्वन्द्वमा दुःख पाएका, घरबास गुमाएका कैयौंले लाखौं पाए। तर उनले भने फुटेको कौडी पाएका छैनन्। न त उनको घाउमा मल्हम पट्टी लगाउन कसैले चासो नै देखाएका छन्।

स्थानीय सरकार स्थापना हुँदा हस्तेको मनमा केही आशाका किरणहरू नपलाएका हैनन्। ‘यो सब बेकार लागेको छ। किनकि, सरकार भनेको त हुनेखानेको लागि रैछ। कहाँ, हामी जस्तो हुँदा खानेलाई हेर्दोरहेछ र,’ उनी भन्छन्।

युद्धताका रोल्पाको पूर्वी भेगमा तत्कालीन नेकपा (माओवादी) को राम्रो प्रभाव थियो। उनीहरू त्यहिँ दिनभर हराउँथे। रातको समयमा घर–घरमा छिर्थे। उनीहरू घरमा होस् कि नहोस् खाना बनाउ भन्दै  बास माग्थे। गाउँलेहरू पनि सुरु–सुरुमा सहजै बस्न दिन्थे।

विस्तारै माओवादी कार्यकर्ताहरूले घरका भित्ता–भित्तामा पार्टीको नारा लेखेर जान थाले। दुख कहाँ माओवादीको मात्र थियो र। अर्कोदिन दिउँसोतिर सेना गाउँ छिर्दा स्थानीयहरू कुटिन, पिटिन थाले। माओवादी कार्यकर्ताहरू सक्रियताकै कारण सेनाको त्राश भोगेपनि गाउँहरू सचेत हुन्थे।स्थानीयहरू नारा नलेख्न पटकपटक आग्रह पनि गरे, तर माओवादीले पटक्कै सुनेनन्। गाउँलेले कुटाई खाएको माओवादीलाई कुनै प्रवाह थिएन, चाहे सेनाले कुटोस् या पिटोस्।

लगत्तै, रातिराति गाउँमा छिरेर लुकिछिपी ‘माओवादी–जिन्दावाद’ जस्ता नारा लेखेर जन थाल्ने क्रम रोकिएन। निरन्तर चलिरह्यो। बिहानै सेना बस्तीमा छिरेर सर्वसाधारणमाथि हातपात गर्नु सामान्य जस्तै थियो। सेनाको क्रूर आतंकबाट जोगिन गाउँलेहरूले नारा मेटाएपछि माओवादी कार्यकर्ताहरूले ‘किन नारा मेटाएको’ भन्दै स्थानीयमाथि कुटपिट गर्थे। भन्थे- सेनालाई सघाउन थालिस्।

त्योबेला हार्जङवासीले सेना र माओवादी आतंकबाट जोगिन नारा मेटाउने अभियान थाले। ०५५ फागुन २४ गतेको राति गाउँले र माओवादी कार्यकर्ताहरूबीच झडप भयो। लगत्तै माओवादी कार्यकर्ताहरू आक्रमक हुन थाले।

०५५ फागुन २६ गतेको त्यो बिहानपख स्मरण गर्दा हस्ते अहिले पनि डराउँछन्। उनी भालेको डाँकोसँगै पिटिए। उज्यालो पर्खी बसेका उनका आठ जना साथीहरू अर्को घरमा जिउँदै जलाइए। उनी भने शरीर मर्नेगरी सदाका लागि थलिए। हस्तेमाथि माओवादी कार्यकर्ताहरू नराम्रोसँग जाइलागे। उनीहरूले मानवता नै भुले।

नजिककै प्रहरी थिएन। रात पर्न थालेपछि घर–घरमा माओवादी आतंक सुरु हुन्थ्यो। सबैभन्दा पहिले उनीमाथि कुटपिट गरे। लगत्तै दर्जन बढी मानिस सुतिरहेको घरमा ढोका थुनेर आगो दन्काए। उनी भन्छन्, ‘साथीहरू जिउँदै जलाइए। तर म भने बाँचेँ। घरछेउबाट हेलिकप्टरले दाङ लगेछ।’

माओवादी कार्यकर्ताहरूले पिटेर (०५५ फागुन २६) धुजा–धुजा पारेको थैलाजस्तै शरीर एकाबिहानै हेलिकप्टरमा दाङ लगियो। उनको महेन्द्र अस्पतालमा ५ हजार ५ सय तिरेर उपचार गरियो। लगत्तै अर्कोदिन भेरी अस्पताल बाँके पुर्‍याइयो। त्यहाँ औषधी उपचारबापत ३० हजार तिरेर हार्जङ फर्केको उनकी भाउजू देवी रोकामगर बताउँछिन्।

दाङ, बाँकेपछि काठमाडौँस्थित बीर अस्पतालमा उपचार गरियो। हस्तेको उपचारमा ०५५ सालतिर डेढ लाखभन्दा बढी खर्च भयो। तर हेलिकप्टर खर्च नेकपा (एमाले) ले तिरेको स्थानीयहरू बताउँछन्।

हस्तेका जेठाे छोरा त्योबेला १७ वर्ष पुग्दै थिए। कान्छा चाहिँ चानचुन १२ वर्ष पुगेका थिए होलान्। परिवारको अवस्था कमजोर। कमाउन कालापार जानैपर्ने बाध्यता थियो। गाउँका साथीभाईसँगै जेठाे छाेरा भारततिर लागे।

काम खाेज्दै भारत पुगेका छोरा बुबा कुटिएर बाेल्न–चल्न नसक्ने भएको एक वर्षपछि घर फर्केिए। लामाे समयसम्म उतै मजदुरी गरेर बुबाको उपचार खर्च तिरेको उनी बताउँछन्। ‘मर्‍यो भनेर माओवादीहरूले झाडीमा फालेका रहेछन्। धन्न बा बाँचेछन्,’ उनले भने।

तत्कालीन माओवादीले मच्चाएको आतंक रोक्न ड्युटीमा बसेका हस्ते कुटिएपछि हार्जङ गाउँ दशकसम्म त्रासमै बाँच्यो। ‘ऋण खोजेर औषधी उपचार गर्नुपर्‍यो। कसैले सहयोग गरेनन्। उबेला डेढ लाख सकियो। औषधी उपचार सप्पै मै तिरेँ,’ हस्तेकी भाउजू देवी बताउँछिन्। उनी पनि राम्रोसित कान सुन्दिनन्। बिरामी छिन्।

माओवादी कार्यकर्ताहरू आजभोलि पनि गाउँ छिर्दा उनीहरूकाे निन्द्रा खोसिन्छ। ‘पुराना दिनहरू सम्झेर हामीलाई डर लाग्छ,’ हस्तेका जेठाे छोरा भन्छन्। विगत खोतल्दै जाँदा उनी घटनाअघिका बुबा सम्झेर बाेली नै बन्द गर्छन्।

घर आँगनमा जिउँदो शहीद अर्थात् हस्ते राेकामगर गलेर पल्टिएको देख्दा पनि न विद्रोही, न त राज्यपक्ष– कसैले पनि कुनै सहयोग गरेनन्। उनी उपचारपछि जिल्ला भित्रिँदा पनि माओवादी त्राशले महिनौँसम्म घर फर्किन सकेनन्। फेरि मार्छन् कि भनेर घर नफर्किएकाे स्थानीय बलबहादुर रोकामगर बताउँछन्। ‘मेरो घर जल्यो। मेरा साथीहरूको हत्या गरियो। हस्ते बोल्दैन, हिँड्दैन। धन्न म भने बाँचेछु,’ उनी भन्छन्।


‘हार्जङ घटना’ भनेको घरभित्र बसिरहेकाहरूलाई आगो लगाएर हत्या गरिएको घटना हो। भाग्ने क्रममा समात्दै, गोली हान्दै, कुट्दै, पिट्दै आफ्नो कब्जामा लिएर हत्या गरिएको थियो। मानवअधिकारको दृष्टिकोणले गम्भीर उलघंनको घटना हो।

राज्यले त्यस्तो घटनामा संलग्न भएका मान्छेहरूलाई कारबाहीको साथ–साथै पीडितलाई राहतको कुराहरू गर्नुपर्ने थियो तर गरेन। उनीहरूको अवस्था जस्ताको त्यस्तै छ। त्यतिखेर आस्था राखेकै कारण मारिएको छ।

आस्था राख्न पाउनु अधिकारको कुरा हो। हाम्रो संविधानले दिएको अधिकार हो। आस्था राखेकै कारण कसैको हत्या गरिएको छ! त्यस्ता अपराधीहरूलाई कारबाही गरिनुपर्छ। पीडकलाई राहतको व्यवस्था गरिनुपर्छ भन्ने मलाई लाग्छ।

त्यो क्रममा म यहाँ आउँदा जो मान्छे पनि डराउने अवस्था थियो। गाउँमा प्रवेश गर्नेलाई पनि ठाउँ–ठाउँमा उहाँहरू सेन्ट्री बसेको अवस्था थियो। किन भने यहाँ कोहि मान्छे आएर थर्काउछ, मार्छ भन्ने थियो। तर त्यो घटनापछि प्रहरी चौकी पनि आयो। 

मैले सुनेको त्यतिखेर प्रहरी चौकी राखेपछि पनि सुरक्षित थिएन रे। यहाँका बासिन्दालाई थाहा होला राज्य र विद्रोही पक्ष दुवै पक्षबाट पीडित भएको सुन्नँ पाइन्छ। यो एउटा ‘सशस्त्र द्वन्द्व’ नभएर व्यक्तिलाई पोस्ने युद्धको महसुस भयो। मृत्यु की मुक्ति भनेर लागेहरूले सर्वसाधरणलाई मार्न निर्देशन दिएका थिए।

प्रकाशित मिति: : 2023-03-05 21:20:00

प्रतिकृया दिनुहोस्