ओली संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र विरोधी हुन्: प्रचण्ड (भिडियाेसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र विरोधी भएको आरोप लगाएका छन्।

काठमाडौंमा मंगलबार संसद् विघटनको विरोधमा आयोजित सभामा बोल्दै उनले भने,‘उहाँ संघीयता, धर्मनिरपेक्षका पक्षमा हुनुहुन्थेन भन्ने मलाई थाहा थियो। आँधीहुरी आयो, अब संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालाई मान्छु, मानिदिनु पर्‍यो मलाई भन्नुहुन्थ्यो। तर, उहाँ बयलगाढामै हुनुहुदो रहेछ।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली परिवर्तनका पक्षधर होइनन् भन्ने आफूलाई थाहा भएर पनि पार्टी एकता गरेकोमा जनतामाझ क्षमायाचना गरेका छन्।

‘मलाई थाहा थियो, उहाँ गणतन्त्रको पक्षमा हुनुहुन्थेन। उहाँ माक्र्सवादी होइन भन्ने आम जनतालाई पनि थाहा थियो। त्यसका बाबजुद ओलीले नै आफूले जनताको चाहनाअनुसार परिवर्तनलाई मानेको भनेर मसँग भनेका कारण त्यही कुरालाई विश्वास गरेर पार्टी एकतामा लागें। म क्षमा माग्छु’, उनले भने। 

उनले संसद् विघटन गरेर कलंकको टीका लगाएको समेत बताए। प्रचण्डले भने,‘ संविधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर विघटनको प्रस्ताव गर्नु गलत हो। यस्तो कार्य गरेर ओली आफैँले इतिहासमा कलंकको टीका लगाए, त्यो कहिल्यै मेटिने छैन।’

प्रचण्डले संविधान बनाउन अहिलेसम्म विश्वले मानेको सबैभन्दा लोकतान्त्रिक विधिमार्फत नेपालमा संविधान निर्माण भएको स्मरण गराए। 

‘७० वर्ष लामो संघर्षको परिणामस्वरुप संविधानसभाबाट संविधान निर्माण भएको हो। तर, आफैँले बनाएको संविधानको ओलीले बलात्कार गरेँ। उनले आफैँले स्वीकार नगरेसम्म इतिहास र नेपाली जनताले माफी दिने छैनन्,’ उनले भने। 

उनले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने विश्वाससमेत व्यक्त गरे। ‘म भरोसा गर्न चाहन्छु हाम्रो सम्मानित अदालतले सिंगो देशको यो भावनालाई सम्मान गर्नेछ,’ उनले भने, ‘सर्वोच्च ले संविधानको मर्म र भावनालाई बुझ्दैन भनेर म सोच्न पनि सक्दिनँ।’

संविधानमाथिको यो निर्मम प्रहारलाई सच्याउने कोसिस गरिएन भने भोलि आँधीहुरी आउने चेतावनी पनि उनले दिए। 

प्रकाशित मिति: : 2020-12-29 16:26:00

प्रतिकृया दिनुहोस्