बृहत् सिँचाइद्वारा जलाशय निर्माण

सांकेतिक तस्बिर

दाङमा चालू आर्थिक वर्ष २०७७/७८ मा १९ नयाँ जलाशय निर्माण हुने भएका छन्। बृहत् दाङ उपत्यका सिँचाइ आयोजना कार्यालय तुलसीपुरका अनुसार दुई क्रमागत र १७ थप नयाँ जलाशय निर्माण हुन लागेका छन्। 
 
कार्यालय प्रमुख राजु आचार्यका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिमा–८, घोराही उपमहानगरपालिकामा पाँच बबई गाउँपालिकामा एक, शान्तिनगर गाउँपालिकामा–तीन र दङ्गीशरण गाउँपालिकामा दुई जलाशय निर्माण हुने भएका छन्। त्यसका लागि रु तीन करोड ६८ लाख बजेट विनियोजन भएको उनले बताए। 

तुलसीपुर उपमहानगरपालिकाका लागि रु एक करोड ८९ लाख, घोराही उपमहानगरपालिकाका लागि रु ८६ लाख बबई गाउँपालिकामा रु १० लाख, शान्तिनगर गाउँपालिकाका लागि रु ६८ लाख बजेट र दङ्गीशरणका लागि रु २५ लाख बजेट विनियोजन गरिएको छ। 

उनका अनुसार तुलसीपुर उपमहानगरपालिका–१ को जम्मुचिरा, वडा नं २ को मनिकापुर कुइरेपानी, ८ को खोटीखोली, वडा नं ११ को हस्नापुर, १४ को अकमी, वडा नं १७ को गेगतिया, वडा नं १८ को पिर्थली कुईरे सोता र वडा नं १९ को दूधेगजेरीमा जलाशय निर्माण गर्न लागिएको हो।

त्यस्तै घोराही उपमहानगरपालिका–२ को ज्यामिन सोता, वडा नं २ र ४ मा पर्ने सरेसोता, वडा नं १७ को बर्गदी, वडा नं १७ कै ओखर स्याउली सोता र वडा नं ९ को एकलघरुवा सोतामा जलाशय निर्माण हुने भएका छन्।

बबई गाउँपालिका–४ तालगैरा, शान्तिनगर गाउँपालिका–१ गुद्रुगखोला, वडा नं २ को अमुवा र वडा नं ३ को फलाटेखोलीमा तथा दङ्गीशरण–१ बाँघेचिरा र वडा नं ३ को बघिगन्धिमा जलाशय निर्माण हुने भएका हुन् । यीमध्ये केही स्थानमा निर्माण शुरु भएको छ, केही स्थानमा भने सर्वे गर्ने काम भइरहेको प्रमुख आचार्यको भनाइ छ। यी सबै जलाशय निर्माणको काम चालू आर्थिक वर्षभित्रै सक्नुपर्ने छ।  

अहिले निर्माण हुन लागेका जलाशयका लागि विनियोजन भएको यो बजेट भने पर्याप्त नभएको उनको भनाइ छ। उनका अनुसार एउटा ड्याम निर्माण गर्नका लागि रु ६० देखि ९६ लाखसम्म बजेट लाग्ने गरेको छ। थप बजेट ल्याउन पहल भइरहेको उनले बताए। 

जलाशय निर्माण भएपछि जिल्लामा ३० देखि ६० हेक्टर क्षेत्रफलमा सिँचाइ हुने अपेक्षा रहेको सूचना अधिकारी शान्तराज गौतमले बताए। साथै थप २१ जलाशय निर्माण गर्नका लागि आफूहरुले माग गरेको सूचना अधिकारी गौतमले बताए। दाङमा कार्यालय स्थापना भएदेखि ४१ जलाशय निर्माण भएका छन्। रासस 

प्रकाशित मिति: : 2020-12-30 12:59:00

प्रतिकृया दिनुहोस्