अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेकुदेखि कालिमाटी जोड्ने विष्णुमती खोलाको पुल निर्माणका क्रममा भ्रष्टाचार भएको ठहर गरेकाे छ।
अख्तियारले बिहीबार ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। दिगो सहरी यातायात आयोजना अन्तर्गन पुल निर्माणका क्रममा ठेकेदार कम्पनी पप्पुले २२ करोड ६१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। ६२ मिटर लामो पुल निर्माणका लागि २०७४ सालको पुसमा तेस्रोपटक म्याद थप गरिएको थियो।
अख्तियारले आयोजना कार्यान्वयन इकाईका निमित्त प्रमुख बेलबहादुर नेपालीमाथि कार्यसम्पादन जमानत नविकरण नगरी तेस्रो पटक ठेक्काका लागि म्याद थप गरेको आरोप लगाएको छ। उनीमाथि त्यही सिफारिसका आधारमा कार्यसम्पादन जमानत फुकुवा भई सरकारलाई नोक्सान पुर्याएको आरोप छ।
लेखा अधिकृत नारायणबहादुर थापामाथि ठेक्काको म्याद थपको सिलसिलामा गलत टिप्पणी उठाइ सिफारिस गरेको आरोप छ। लेखापाल गिरीप्रसाद श्रेष्ठमाथि ठेक्का तोड्ने र कालोसूचीमा राख्ने जस्तो कारबाहीमा कार्यसम्पादन जफत हुनुपर्नेमा नगरेको आरोप छ।
लेखा अधिकृत श्यामबहादुर खत्रीमाथि पनि त्यही आरोप छ।
निर्माणमा संलग्न झोङदिन इन्टरनेशनल इञ्जिनियरिङ लिमिटेडका प्रतिनिधि जेङ जुयाङ र ठेक्काको अख्तियारनामा पाएका सुमित रौनियारमाथि एक करोड १४ लाख कार्यसम्पादक जमानतको रकम फुकुवा गरी राज्यकोषमा हानीनोक्सानी पुर्याएको आरोप छ।