वृद्धाको हत्या आरोपमा पक्राउ परेका व्यक्ति सार्वजनिक

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले  पुनर्वास नगरपालिका १ की ७१ वर्षीया वृद्धा खन्टी भुलको हत्या आरोपमा पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको छ। 

शनिबार पत्रकार सम्मेलन गरी कञ्चनपुरको लालझाडी गाउँपालिका ६ ढाक्का शिविरका ४९ वर्षीया दलबहादुर विकलाई सार्वजनिक गरेको हो।

घरमा एक्लै बस्ने खन्टीको पुस ११ गते राती टाउको र निधारमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो। हत्याको दोस्रो दिन मात्रै घटना बाहिर आएको थियो। 

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीका अनुसार अभियुक्त विकले धारिलो हतियार (बासुलो) प्रयोग गरि वृद्धाको हत्या गरेको स्वीकारेका छन्।

अनुसन्धान साँघुरिदै विकमाथि केन्द्रित भएपछि उनको घरमा खानतलासी गर्दा बन्दुकको गोली भेटियो। ‘त्यसपछि हामीले उनलाई पक्राउ गरेर हातहतियार तथा खरखजाना अन्तरगत मुद्दा चलायौं,’ उनले भने, ‘फेरी घरमा खानतलासी गर्‍यौं, सुर्तीको प्याकेट र टर्चभित्र वृद्धाका गहना भट्यौं।’

विककी छोरीको घर मृतका वृद्धाकै घर नजिक छ। छोरी भेट्न आउजाउ गरिराख्थे। त्यहि क्रममा खन्टीसँग पनि सामान्य परिचय भएको थियो। छोरी भेट्न गएका बेला खन्टीको घरमा पनि जाने गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-01-02 13:49:00

प्रतिकृया दिनुहोस्