चिन्तन:

शरद ऋतुका तीन पक्ष– पितृपक्ष, शक्तिपक्ष र सिद्धीपक्ष

मुक्ति गौतम

मणिपुर भारत 

भाद्र शुक्ल पूर्णिमादेखि आश्विन कृष्ण औँसी (जमरे औंसी) सम्म पितृपक्ष मानिन्छ। यसलाई हामी 'सोह्र शराद' भनेर पनि जान्दछौं। १६ वटा तिथिमा श्राद्ध गरिने भएकाले यो श्राद्धलाई 'सोह्र श्राद्ध' भनिएको हो। कसैकसैले यसलाई 'पार्वण श्राद्ध' पनि भन्दछन्। 

आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा विभिन्न पौराणिक ग्रन्थमा समेत बताइएको छ। आश्विन महिनाको कृष्णपक्ष पितृहरूलाई तृप्त तुल्याउने समय भएकोले हिन्दु समाजमा सोह्रश्राद्धको महत्त्व रहिआएको छ। 

दशदिशा हराभरा हुने भनिएको वैदिक सनातन धर्मको महान पर्व दशहरा दुर्गापूजा (दशैं) सँग जोडिएको यो पर्वलाई शास्त्रले तीनभागमा बाँडफाँड गरेको छ। 

पितृपक्ष, शक्तिपक्ष र सिद्धीपक्ष। पितृपक्ष सोह्र दिनको हुन्छ। शक्तिपक्ष नौ दिनको हुन्छ। र, सिद्धिपक्ष पाँच दिनको हुन्छ, जसलाई हामी सोह्र सराद, नौरथा र टीका थाप्ने भन्दछौं। धार्मिक र सांस्कृतिक महत्त्व आफ्नै ठाउँमा छ तर यसको व्यावहारिक र वैज्ञानिक पक्ष अनुकरणीय र सान्दर्भिक छ। 

१. पितृपक्ष: 

आफ्ना दिवंगत ज्ञात अज्ञात सम्पूर्ण पितृहरूलाई साक्षी राखी आफ्नो क्षीण भएको शक्ति उपार्जनका निमित्त हामीसँग भएका काम ( बोकाको स्वभाव), क्रोध (भेडाको स्वभाव), लोभ (माछाको सेवभाव), मोह (परेवाको स्वभाव) र अहंकार (राँगाको स्वभाव) पाँचवटा पशुवृतिको परित्याग गर्ने संकल्प गर्छौं। 

पितृका नाउँमा नुन, तेल, माछामासु, लसुनप्याज जस्ता तामसिक भोजनको परित्याग गरी शुद्ध सात्विक अल्पाहार गरि आफ्ना सम्पूर्ण महादोषहरूको महालय गर्दछौं। 

हामी शारीरिक, मानसिक र बौद्धिक तीनै अवस्थामा पवित्र हुन्छौं। जौ उमार्ने अथवा जमरे औँसीका दिन आफुसँग भएका पञ्च महादोषबाट निवृत्त भइ जलाञ्जलि दिएर श्राद्धको समापन गर्दछौं।  

२.शक्ति पक्ष:

श्राद्ध र तर्पणबाट निवृत्त भएपछि प्रतिपदाको दिन आफ्नो पवित्र घटाकाशमा प्रकृति स्वरुपा भगवती दुर्गामातालाई स्थापना गर्दछौं। आफ्नो पवित्र घटमा स्थापना गरिने हुनाले यसलाई घटस्थापना भनिएको हो। दुर्गा भनेको प्रकृतिमा देखिएको दुर्गम शक्तिको नाम हो। 

यस दुर्गम शक्तिलाई  महागौरी (सृष्टिशक्ति), महालक्ष्मी (धनशक्ति) र महासरस्वती (ज्ञानशक्ति)का नामले हामी जान्दछौं। सृष्टि, धन र ज्ञानको अभावमा मानव जीवन निरर्थक हुन्छ। यी तीन शक्तिलाई सत, रज र तम तीनगुणले गुणा गरेर शक्तिका नौ रुप अर्थात नवदुर्गाको उपासना गर्ने हाम्रो पावन परम्परा रहि आएको छ। 

यसलाई नौरथा भन्ने प्रचलन पनि छ। किनभने नौ को अंक पूर्णांक मानिन्छ, जो ब्रह्मको परिचायक पनि हो। साधकले आफ्ना देहका नौद्वार (आँखा-२, कान-२, नाक-२, मुख-१, गुदद्वार-१ र मुत्रद्वार-१) लाई रथको रुपमा प्रयोग गरी शक्तिका यी नौ रुपलाई सो–सो स्थानमा धारण गरेर सफलता पाउनुपर्ने हुनाले यसलाई 'नौरथा' भनिएको हो। 

सिद्धीपक्ष:

हाम्रा अन्त:करणादि वृत्तिमा रहेका  काम, क्रोध, लोभ, मोह र अहंकार नामक पशुवृत्तिहरूलाई परास्त गरि प्राप्त गरेका शक्तिका यी नौरुप मध्य सिद्धीधातृ भगवतीका कृपाले आसुरी वृत्तिलाई परास्त गरी हामी शक्ति सम्पन्न भएका हुन्छौं।  विजयोत्सव मनाउँछौं। 

यसै कारण यश पर्वलाई विजय दशमी भनियो। ऋतुले पस्कीदिएको दहि, चिउरा र केरा खाएर शारीरिक उर्जा पनि प्राप्त गर्दछौं। टीका लगाई दिएर शक्ति वितरण पनि गर्छौं। 

जीवनको पूर्णता:

यसपछि को-जागृत पूर्णिमाको दिन आफ्ना दिवंगत पितृ र प्रकृतिकी दुर्गम शक्तिस्वरूपा जगत्–जननी दुर्गामाताबाट शक्ति प्राप्त गरेर हामी आत्माहरू जगतलाई प्रेम र आनन्द दिने श्रीकृष्ण स्वरूप परमात्माको महारासमा शामिल भई रास रमण गर्दैछौं अर्थात विषयरसबाट मोक्ष पाउँछौं।

प्रकाशित मिति: : 2021-09-21 20:06:00

प्रतिकृया दिनुहोस्

ट्रेन्डिङ