आफ्नै नेतृत्वलाई विस्थापित गर्ने भएपछि प्रधानमन्त्रीले विशेषाधिकार प्रयोग गरेर संसद विघटन गर्नुभयाे: थापा

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिस्ट पार्टी (ओली) का नेता एवं गृमन्त्री रामबहादुर थापाले संसदले आफ्नै नेतृत्वलाई विस्थापित गर्न खोजेपछि प्रधानमन्त्रीले विघटन गरेको बताएका छन्।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित काठमाडौं जिल्लाको बृहत् कार्यकर्ता भेलामा मन्त्री थापाले भने, ‘संसद जहाँ नेकपाको दुई तिहाइ मत छ। स्थिरताको संयन्त्र थियो। अस्थिरताको संयन्त्रमा परिणत गरी आफ्नै नेतृत्वलाई विस्थापित गर्ने भएपछि  प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गर्नुभयो।’ 

उनले नेकपा (प्रचण्ड) समूहका संसदमा बहुमत बनाएर अविश्वासको प्रस्ताव दर्ता गरी राजनीतिक ‘कू’ गर्न खोजेको आरोपसमेत लगाए।

‘यो संवैधानिक भन्दा पनि राजनीतिक हो,’उनले भने,‘राजनीतिक ‘कू’ र प्रतिगमनलाई रोक्ने साहसिक कदम हो।’

उनले संसदको पुनर्स्थापना नहुने भन्दै नयाँ संसदको स्थापना हुने बताए। उनले पार्टी विग्रह आउनुको कारण ‘पावर सेयरिङ’ र सत्ता लोलुपता भएको समेत बताए। 

‘प्रधानमन्त्री ओलीलाई हटाउनको लागि अर्का अध्यक्षले कृत्रिम आरोप समेत लगाएका थिए। पछिल्ले अन्तरसंघर्ष को प्रधानमन्त्री हुने? को राष्ट्रपति हुने? को अध्यक्ष हुने ? को मन्त्री र राजदूत हुने भन्नेमा केन्द्रित छ, कुनै वैचारिक बहसमा होइन,’ उनले भने। 

राजनीतिक स्थायित्वका लागि जनतामा जाने निर्णय सही भएको बताएका छन्।

‘नेकपाकालाई विभाजन गरेर नेपालमा राजनीतिक अस्थिरता फैलाउन प्रतिक्रियावादी सफल भएका छन्। प्रतिक्रान्तिको खतरा रोक्न र विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर जनतामा जाने निर्णय गर्नुभएको हो। यो निर्णय सही छ,’उनले भने।

थापाले केन्द्रबाट कारबाही गरेर, पार्टीबाट निष्कासन गरेर कम्युनिस्ट आन्दोलनका अवसरवादी प्रवृत्तिलाई किनारा लगाउन नसकिने भन्दै त्यसका लागि पनि जनतामा जानुपर्ने बताए।

‘केन्द्रमा कारबाही गरेर, पार्टीबाट निष्काशित गरेर अवसरवादी प्रवृत्तिलाई परास्त गर्न सकिँदैन’, उनले भने, ‘जनताको बीचमा गएर कम्युनिस्ट आन्दोलनका अवसरवादी प्रवृतिलाई किनारा लगाउन सकिन्छ।’

प्रकाशित मिति: : 2021-01-02 15:28:00

प्रतिकृया दिनुहोस्