विलियम्सनको शतकमा न्युजिल्यान्ड बलियो स्थितिमा

बिएल संवाददाता

काठमाडाै‌ं

कप्तान केन विलियम्सनको शतकको सहयोगमा पाकिस्तानविरुद्ध न्युजिल्यान्डले दोस्रो टेस्ट क्रिकेटको दोस्रो दिनको खेल समाप्त हुँदा तीन विकेटको क्षतिमा २८६ रन बनाएको छ। 

दोस्रो दिनको समाप्तिमा न्यूजिल्यान्डले पहिलो इनिङमा ८५ ओभरमा ३ विकेट गुमाउँदै २ सय ८६ रन बनाएको छ। समग्रमा न्युजिल्यान्ड ११ रनपछि छ।

पाकिस्तानविरुद्ध विलियम्सन र हेनरी निकोल्सले २१५ रनको साझेदारी गरिसकेका छन्। 

कप्तान विलियम्सन १ सय ७५ बलमा १६ चौका सहित १ सय १२ रनमा अविजित छन्। विलियम्सनको यो टेष्ट करिअरको २४ औं शतक हो। भाग्यशाली रहेका विलियम्सनले तीन पटक जीवनदान पाएका थिए। 

हेनरी निकोल्स १ सय ८६ बलमा ८ चौका सहित ८९ रनमा अविजित छन्।

क्राइस्टचर्चको मैदानमा ७१ रन बनाउँदा तीन विकेट गुमाएको न्युजिल्यान्डले त्यसपछि कुनै विकेट गुमाएन।

न्युजिल्यान्डका लागि टम लथमले ३३, ब्लन्डेलले १६ र रस टेलरले १२ रन बनाएका थिए।

शाहिन अफ्रिदी, मोहम्मद अब्बास र फहिम अशराफले एक एक विकेट लिए।

पहिलो इनिङमा पाकिस्तानले २९७ रन बनाएको थियो। न्युजिल्यान्ड अझै ११ रनले पछि छ, तर उसका सात विकेट अझै बाँकी छन्।

पहिलो टेस्टमा न्युजिल्यान्डसँग पाकिस्तान १०१ रनले पराजित भएको थियो।

प्रकाशित मिति: : 2021-01-04 14:04:00

प्रतिकृया दिनुहोस्