गर्भमै तुहिन्छन् छोरी

शिलापत्र

काठमाडौँ

विशाल सुनार

दैलेख नारायण नगरपालिका वडा २ कि एक महिला तीन सन्तानकी आमा हुन् । तीनै छोरी भएको उनका श्रीमानलाई रुचेन । छोरा नजन्माएको भन्दै दिनहुँ टोकसो गर्न थाले । छोराको चाहना पूरा गर्न श्रीमती गर्भवती भएपछि छोरी भए फाल्ने, छोरा भए राख्ने प्रस्ताव गर्न थाले । उनी फेरि गर्भवती भइन् । गर्भ जाँच गर्न उनीहरू ऋण निकालेर बाँकेको नेपालगन्ज पुगे । एकपटक गर्भपतन गराएपछि पाँचौँ पटकमा बल्ल छोरा जन्माए । 

यो जोडीले  दुईपटक गर्भ जाँच गरि छोरा जन्माएको कुरा भुसको आगो झैं गाउँमा फैलियो । उनकै शूत्र पच्छ्याउँदै चार जोडीले यसैगरी छोरी हुँदा गर्भमै मारेर छोरा जन्माए । यसरी छोरा जन्माउने चारै जना आमाका पहिल्यै दुई-तीन छोरी सन्तान थिए ।

छोराको आशमा गर्भमै छोरीको हत्या गर्नेको संख्या ठूलो छ । गर्भपतनका प्रायः घटना भ्रुणको लिङ पहिचानपछि हुने गरेका छन् । जिल्ला स्वास्य सेवा कार्यालय दैलेखका अनुसार, आर्थिक वर्ष ०७५-०७६ देखि ०७७-०७८ को पहिलो चौमासिकसम्म  जिल्लामा ९ हजार ४ सय ३४ शिशु जन्मिएका छन् । तीमध्ये ४ हजार ९ सय ७५ छोरा र ४ हजार ४ सय ५९ छोरी छन् । यो अवधिमा जिल्लामा ६ सय ७८ जनाले गर्भपतन गराएका छन् । 

गर्भपतन गराउनेमा प्रायः २० वर्षभन्दा माथिका दुई वा दुई भन्दा धेरै छोरी भएका विवाहित महिलाहरू रहेको अस्पतालले जनाएको छ । त्यस्तै नेपाल परिवार नियोजन संघ दैलेखमा आर्थिक वर्ष ०७६-०७७ मा १ सय ४१ जनाले गर्भपतन गराएका छन् । सेवा लिने प्राय सबै छोरी सन्तानकै आमा भएको संघकी सिनियर नर्स कुशुम श्रेष्ठ बताउँछिन् । ‘बारम्बार गर्भाधान र गर्भपतनले महिलाहरूको प्रजनन् स्वास्थ्यमा प्रत्यक्ष असर पुग्दछ,’ उनी भन्छिन्, ‘यसले महिलाको सुरक्षित मातृत्वको अधिकार पनि हनन् हुन जान्छ ।’

प्रकाशित मिति: : 2021-01-05 11:55:00

प्रतिकृया दिनुहोस्