अमेरिकामा क्रिकेटको पुन: उदयका लागि मेजर लिग

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकामा व्यवसायिक क्रिकेटको प्रबद्र्धनका लागि तयारी सुरु भएको छ। यसको तयारी स्वरुप यही वर्षदेखि यहाँ माइनर लिग क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। यसमा अमेरिकी स्पोटर्स मार्केटका २४ फ्रेञ्चाइज टिमले भाग लिनेछन्। 

अमेरिकाले अघिल्लो वर्ष मेजर लिग क्रिकेट (एमएलसी) सञ्चालन गर्न परीक्षणको रुपमा माइनर लिग सुरु गर्न लागेको हो। 
बलिउड स्टार शाहरुख खान मालिक भएको नाइटराइडर्स समूहले मेजर लिगअन्तर्गत एउटा टिमको अधिकार किनिसकेको छ।

यस बाहेक माइक्रोसफ्ट कम्पनीका सिईओ सत्या नडेला, पेटीएमका संस्थापक विजय शेखर शर्मा र एडोब सिस्टमका सिईओ सान्तनु नारायणले पनि टि–२० लिगमा पैसा लगानी गरेका छन्। एमएलसीमा घरेलु क्रिकेट इन्डस्ट्रीको एक बिलियन डलर बराबरको रकम लगानी हुनेछ। 

विश्लेषकका अनुसार अमेरिकामा क्रिकेटको बजार वार्षिक करिब ५० मिलियन डलरको छ। अमेरिकाले क्रिकेटको व्यवसायिक सुरुवात गर्ने उद्देश्यलाई ओलम्पिकमा यो खेललाई स्थान दिलाउने अभिप्रायले हुन लागेको बताइएको छ। अमेरिका ओलम्पिकको प्रभावशाली देशमा पर्छ। यदी अमेरिकामा क्रिकेट लोकप्रिय भएको खण्डमा ओलम्पिकमा यो खेललाई स्थान दिलाउन सहज हुने अनुमान गरिएको छ। 

एक रिपोर्ट अनुसार अमेरिकामा १८ औं सताब्दीताका बेलायती उपनिवेशले क्रिकेट अमेरिकामा भित्र्याएको थियो। यहाँ क्रिकेटलाई लोकप्रिय बनाउन देशको पहिलो राष्ट्रपति जर्ज वासिङ्टनको ठूलो हात थियो। उनी बेलायतसँग स्वतन्त्रताको लडाईंको बेला सैनिकसँग क्रिकेट खेल्थे। 

दोस्रो राष्ट्रपति जोन एडम्सले अमेरिकी कंग्रेसमा भाषण दिनेक्रममा भनेका थिए, ‘यदी क्रिकेट क्लबका मुखियाहरुलाई प्रेसिडेन्ट भनिन्छ भने नयाँ मुलुकको नेतालाई प्रेसिडेन्ट नभन्नुको कुनै तुक छैन।’

अमेरिका र क्यानडाबीच क्रिकेटको पहिलो अन्तर्राष्ट्रिय खेल १८४४ मा भएको थियो। त्यसको केही वर्षपछि अस्ट्रेलिया र इंग्ल्याण्डले मेलबर्नमा १८७७ मा पहिलो टेस्ट खेलेका थिए। पहिलो अन्तर्राष्ट्रिय खेल न्युयोर्कको ब्लुमिङडेल्स पार्कको सेन्ट जर्ज क्रिकेट क्लब मैदानमा भएको थियो। 

यसलाई हेर्न २० हजार मानिस उपस्थित भएका थिए। यस खेलको उपहार एक लाख २० हजार डलर थियो। अहिलेको अवस्थामा यसको मूल्य दुई मिलियन डलर हो। तर, अमेरिकामा बेसबलको उदयसँगै क्रिकेटको लोकप्रियता खतम भयो।
अहिले त्यही ऐतिहासिक क्रिकेटलाई उठाउने कार्यको शुभारम्भ भएको छ। 

अमेरिकाले अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसीसी) को एसोसिएट राष्ट्रको सदस्यता २०१९ मा प्राप्त गरेको थियो। उसको योजना २०३० मा पूर्ण सदस्य बन्ने छ। 

लस एञ्जल्समा २०२८ मा आयोजना हुने ओलम्पिकमा यस खेललाई समावेश गर्ने अमेरिकाको योजना छ। अमेरिकी क्रिकेटका कार्यकारी अधिकारी इयान हिगिन्सका अनुसार २०३० सम्म क्रिकेट अमेरिकाको महत्वपूर्ण खेल बनिसक्ने छ। 

मेजर लिग क्रिकेटको आधिकारीक कम्पनी अमेरिकी क्रिकेट इन्टरप्राइजेस (एसीई) ले एयरहग्स रंगशालासँग लामो अनुबन्ध गरिसकेको छ। यो रंगशालाको क्षमता ५ हजार ४ सय ४५ बाट बढाएर ८ हजार बनाउने योजना पनि रहेको छ।

यो मैदान अमेरिकाको राष्ट्रिय टोलीको अभ्यास गर्ने थलो पनि हुनेछ। यस बाहेक यहाँ हाई परफरमेन्स सेन्टर बनाउने अभियान छ। मेजर लिगमा सन फ्रान्सिस्को, लस एन्जेल्स, शिकागो, डलास, न्युयोर्क र अटलान्टाका क्लब समावेश हुनेछन्।

सन फ्रान्सिस्कोबाट तीन टिम– सिलिकन भ्याली स्ट्राइकर्स, गोल्डेन स्टेट ग्रिजलिज, बे ब्लेजर्स समावेश हुनेछन्। लस एन्जेल्सबाट पनि तीन टिम– हलिउड मास्टर ब्लास्टर्स, सोकाल लेशिङ्ग्स, सान डिएगो सर्फ राइडर्स हुनेछ। 

यस्तै, शिकागोको पनि तीन टिम– शिकागो ब्लास्टर्स, शिकागो केचर्स, मिशिगन स्टेट स्टार्स हुनेछ। डलासको टिममा डरविङ मस्टेङ्ग्स, ह्युस्टन हेरिकेन्स, अस्टिन एथलेटिक्स हुनेछ। 

न्युयोर्कबाट भने ६ टिम समावेश हुनेछ। जसमा एम्पायर स्टेट टाइटेन्स, न्युजर्सी स्टेलियन्स, न्यु इंग्ल्याण्ड इगल्स, समरसेट केविलियर्स, डिसी हक्स, फिलाडेल्यिन्स रहनेछ। यस्तै, अटलान्टाबाट पनि ६ टिम रहनेछ। जसमा अटलान्टा परमविर्स, अटलान्टा फायर, फ्लोरिडा बिमर्स, मोरिसभिले, कार्डिनल्स, ओरल्याण्डो ग्यालेक्सी, लोडरडेल लोयर्स रहने छन्। 

अहिले टिमको लिलामीको प्रक्रिया सुरु भएको छैन। अमेरिकामा हाल ९० लाख क्रिकेट प्रेमी रहेको अनुमान गरिन्छ। यसमा धेरैजसो इन्डियन अमेरिकन्स छन्। जसको संख्या ४० लाखको हाराहारीमा बताइएको छ।

यस्तै, ३० लाख वेस्टइन्डिज अमेरिकन्स, ८ लाख युके र आयरल्याण्डमा जन्मिएका र ५ लाख पाकिस्तानी अमेरिकन्स, २ लाख बंग्लादेशी अमेरिकन्स, ३ लाख अफ्रिकी अमेरिकन्स, १ लाख अस्ट्रेलिया–न्युजिल्याण्ड तथा श्रीलंका र नेपाललगायतका एसियाली देशबाट १ लाख समर्थक रहेको अनुमान गरिएको छ। 

प्रकाशित मिति: : 2021-01-06 12:43:00

प्रतिकृया दिनुहोस्