जुत्ता बनाउने सीप सिक्दै, आत्मनिर्भर बन्दै गृहिणी

केदार तिमल्सिना
पनौती नगरपालिका–३ कुशादेवीकी सरस्वती सापकोटालाई विगत दश दिनदेखि भ्याइनभ्याइ नै छ । उहाँ बिहानको खाना चाँडै खाएर घरधन्दा सकेर जुत्ता बनाउने तालिममा सहभागी हुनुहुन्छ । सरस्वती जस्तै पनौती नगरपालिका–४ की पुष्पा श्रेष्ठलाई पनि आजभोलि भ्याइनभ्याई नै छ । उहाँ पनि बिहान खाना खाएर घरको सबै काम सकेर जुत्ता बनाउने तालिममा सहभागी हुनुहुन्छ ।
‘खाना खाएर त्यतिकै घरमा बस्नुभन्दा गृहिणी महिलाहरुलाई लक्षित गर्दै सञ्चालन भएको जुत्ता बनाउने तालिममा सहभागी भएर केही सीप सिकौँ भन्ने सोच बोकेर तालिममा सहभागी भएँ’ सरस्वतीले भन्नुभयो । उहाँले घरमा त्यतिकै बस्नुभन्दा सीप सिक्नु राम्रो भएको बताउनुभयो ।
‘पन्ध्र दिने जुत्ता बनाउने आधारभूत तालिम सकिएपछि एक जना साथीसँग मिलेर आफै व्यवसाय सञ्चालन गर्ने सोच बनाएको छु, मेरो सोचमा घरपरिवारको पनि सहयोग छ’ उहाँले थप्नुभयो–‘एउटा मेसिन र आवश्यक सामग्री भएको खण्डमा घरमा नै बसेर काम गर्न सकिन्छ’ । व्यवसाय सञ्चालन गरेर केही रकम आम्दानी गरी आत्मनिर्भर बन्ने सरस्वतीले लक्ष्य लिनुभएको छ ।
‘बिहान, बेलुकाको घरको काम सकेर फुर्सदको समयमा पनि जुत्ता बनाउने काम गर्न सकिने भएकोले तालिम लिएपछि एकलौटी रुपमा व्यवसाय गर्ने सोच बनाएको छ्ु’ तालिममा सहभागी पुष्पा श्रेष्ठले भन्नुभयो ।

प्रकाशित मिति: : 2021-01-06 16:09:00

प्रतिकृया दिनुहोस्