धनगढी पुगेर पनि प्रधानमन्त्रीले निर्मलाको नाम लिएनन्, ‘निर्मलाका हत्यारा खोइ’ लेखिएको टिसर्ट लगाउँदा सात युवा गिरफ्तार

जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेर नयाँ संसद्का लागि भन्दै भोट माग्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री केपी ओलीले शुक्रबार धनगढीमा लामो भाषण गरे । तर, साढे २९ महिनादेखि सुदूरपश्चिममा ठूलो आन्दोलनको विषय बनेको निर्मला घटनाबारे एक शब्द बोलेनन् । जब कि निर्मलाका आमा–बुबाले दुई वर्षअघि बालुवाटार नै पुगेर प्रधानमन्त्री ओलीसँग न्यायका लागि गुहार मागेका थिए । धनगढी पुगेका ओलीले न्यायको आसमा संघर्षरत निर्मलाको परिवारलाई सम्झन पनि चाहेनन् । 

‘निर्मला पन्तका बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाएर न्याय मागिरहेका युवालाई पक्राउ गरियो, त्यो पनि प्रधानमन्त्री ओलीकै सभाबाट । आठ सय ९८ दिन बित्दासमेत हत्यारा पत्ता लगाउन नसकेको सरकारले न्याय माग्दै प्रश्न गर्नेहरूको पनि मुख थुन्ने प्रयास गर्न थालेको छ । 

प्रहरीले १० साउन ०७५ मा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मलाको हत्यारा अझै पत्ता लगाउन सकेको छैन । यस विषयमा सभ्य शैलीमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउन केही विद्यार्थी शुक्रबार नेकपाले धनगढीमा आयोजना गरेको जनसभामा ‘निर्मला पन्तका बलात्कारी खै ?’, ‘निर्मलालाई न्याय दे’ लेखिएको टिसर्ट लगाएर पुगेका थिए । किनभने सभाका प्रमुख अतिथि प्रधानमन्त्री ओली थिए । 

प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटेर आफ्ना कुरा राख्न सम्भव नहुने भएकाले उनीहरूले टिसर्टमा नारा लेखेर न्याय माग्न खोजेका थिए । तर, प्रधानमन्त्रीनिकट नेताहरूको निर्देशनमा प्रहरीले उनीहरूलाई सभास्थलबाट पक्राउ गरेर हिरासतमा पु¥यायो । 

प्रधानमन्त्री ओलीले आफ्नो क्याबिनेटमा सुदूरपश्चिमका चार मन्त्री बनाउनेदेखि विकास निर्माणसम्मका विषयमा लामो भाषण दिए पनि निर्मला हत्याका विषयमा एक शब्द पनि बोलेनन् । जब उनी काठमाडौंका लागि उडे, त्यसपछि मात्रै प्रहरीले पक्राउ गरिएका युवालाई साँझ रिहा गरेको छ । 

 

प्रकाशित मिति: : 2021-01-09 11:59:00

प्रतिकृया दिनुहोस्