गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न फेरि विदेशी कम्पनीको खोजी!

नेपाल लाइभ

काठमाडौँ

उत्तम काप्री

भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले पुनः विदेशी कम्पनीको खोज्ने तयारी अघि बढाएको छ। यसअघि विदेशी कम्पनी भित्र्याउन गरिएका सबै प्रक्रिया रद्द गरेको सरकारले पुनः नयाँ प्रक्रियाबाट ग्लोबल टेन्डर गरी विदेशी कम्पनी खोज्ने तयारी अघि बढाएको हो।

प्रक्रिया रद्द भएपछि अर्को व्यवस्था नभएसम्म विमानस्थल नागरिक उड्डयन प्राधिकरणले नै सञ्चालन गर्ने र क्रमशः टेन्डर प्रक्रियाबाट नयाँ कम्पनी छनोट गर्ने गरी छलफल सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।

यसअघि विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको ‘म्युनिख’ विमानस्थललाई दिन अगाडि बढाएका सबै प्रक्रिया रद्द गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सञ्चालन गरेर फाइदामा लैजान नसक्ने निष्कर्ष निकाल्दै सरकारले ‘जिटुजी’मोडलमा चलाउने निर्णय गरेर पनि पछि हटेको थियो। जर्मनीको म्युनिखलाई ३० वर्षका लागि सञ्चालनको जिम्मा दिने गरी अगाडि बढाइएको प्रक्रिया रद्द गरिएको थियो। 

‘सुरुवाती चरणमा विमानस्थल नागरिक उड्डयन प्राधिकरणले सञ्चालन नै गर्छ,’ पोखरेलले भने, ‘भावी दिनका लागि भने टेन्डरबाट नयाँ कम्पनी छनोट गरेर विमानस्थल सञ्चालनको जिम्मा दिने विषयमा अहिले छलफल सुरु भएको छ। तर, कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय हुन बाँकी छ।’

प्रकाशित मिति: : 2021-01-14 12:49:00

प्रतिकृया दिनुहोस्