बसपार्कले चर्को कर लिने भएपछि जुम्लामा अनिश्चितकालीन यातायात बन्द

चन्दननाथ नगरपालिका र यातायात व्यवसायीबीच बसपार्क सञ्चालनसम्बन्धी कुरा नमिल्दा अनिश्चितकालीन यातायात बन्द भएको छ। 

आफूहरुको मागलाई नगरपालिकाले बेवास्ता गरेको भन्दै व्यवसायीले यातायात बन्द गराएका हुन्।

चन्दननाथ नगरपालिकाले एकतर्फी रुपमा कर निर्धारण गरी बसपार्क सञ्चालन गर्न लागेको भन्दै व्यवसायीहरु विरोधमा उत्रिएका छन्। 

उनीहरुले बसपार्कमा लगाइएको चर्को शुल्क घटाउन माग गर्दै नगरपालिकाको ध्यानाकर्षण गराए पनि बेवास्ता भएपछि यातायात बन्दको घोषणा गरेका हुन्। 

शुक्रबारदेखि लामो तथा छोटो दूरीका सबै यातायातका साधन बन्द गरिएको देउती यातायात प्रालिका इन्चार्ज तेजेन्द्र हितानले बताए। 

‘बसपार्क सञ्चालन गर्नु राम्रो पक्ष हो,’ उनले भने,‘तर सरोकारवाला र व्यवसायीसँग छलफल नै नगरी एकतर्फी रुपमा कर निर्धारण गरियो।’

व्यवसायीले यातायात बन्द गरे पनि नगरप्रमुख कान्तिका सेजुवाल र प्रमुख प्रशासकीय अधिकृत जिल्लामा नहुँदा छलफल अगाडि बढ्न सकेको छैन।

सात यातायात व्यवसायीले सयूक्त विज्ञप्ति जारी गरेर अनिश्चितकालीन यातायात बन्द गराएको व्यवसायी रतन बहादुर रोकायाले बताए। 

हामीले ध्यानाकर्षण गरे पनि कुनै खालको सुनुवाइ हुन सकेको छैन,’ उनले भने,‘नयाँ बसपार्कमा उचित सुरक्षा, शौचालय घेरवार, पर्खाल, पिउने पानी, बत्ति। चमेनागृह समेत छैन। केबल कर मात्र बढी लिने सोचिएको छ।’

उनका अनुसार बसपार्क संचालनको जिम्मा लिनेले साना गाडीको प्रति ट्रिप तीन सय र महिनाको सात हजार अलग्गै रकम असुली गर्ने भनेपछि चर्को शुल्कको विरोध गरिएको हो। 

यस अघि नगरपालिकाले नयाँ बसपार्कमा अनिवार्य गाडि पार्किड गर्ने प्रक्रिया अगाडि बढाएको थियो।

प्रकाशित मिति: : 2021-01-16 20:15:00

प्रतिकृया दिनुहोस्