बुलबुले तालमा फसेको जरायोको उद्धार

सुर्खेत वीरेन्द्रनगरमा अवस्थित पर्यटकीयस्थल बुलबुले तालमा फसेको घाइते जरायोको उद्धार गरिएको छ । 

उक्त तालमा फसेर घाइते भएर अचेत बनेको करीब तीन वर्षको जरायोलाई आज उद्धार गरी उपचार शुरु गरिएको डिभिजन वन कार्यालय सुर्खेत सहायक वन अधिकृत टेक रावलले जानकारी दिए । 

तालको बीचमा जरायो फसेको भन्ने स्थानीयवासीबाट खबर पाएपछि तत्काल डिभिजन वन कार्यालयको टोलीले त्यहाँ पुगेर उद्धार गरेको सहायक वन अधिकृत रावलले बताए । 

उनका अनुसार घाइते जरायो संरक्षित क्षेत्र काँक्रेविहार जङ्गलबाट बाहिर निस्केको र अचेत अवस्थामा दौडिँदा बुलबुलेको तारजालीमा ठोक्किएर घाइते भएको अनुमान गरिएको छ । बच्चा जरायोको टाउकामा चोट लागेकाले उपचार गरेर निको भएपछि काँक्रेविहार जङ्गलमा छाडिने उनले बताए । 

राति जङ्गलमा चोरीसिकारी बढ्न थालेपछि पछिल्लो समय काँक्रेविहार जङ्गलमा रहेका जनावर असुरक्षित बन्दै गएको स्थानीयवासी बताउँछन् । रासस 

प्रकाशित मिति: : 2021-01-17 17:40:00

प्रतिकृया दिनुहोस्