‘कोभिड-१९ नलागुञ्जेल केही पनि होइन तर लागिसकेपछि यो सबै थोक हो’

देशसञ्चार

काठमाडाैं

कोरोना भाइरसको संक्रमण हुनुभन्दा अगाडि सबै कुरा सहज लाग्थ्यो। मनमा कुनै बेला लाग्थ्यो, ‘म जस्तो मान्छे । म योग गर्छु । ध्यान गर्छु । बलियो छु। रोग प्रतिरोधात्मक क्षमता बलियो छ। यस्ता संक्रमणले केही पनि हुँदैन।’ तर त्यसको ठीक उल्टो भइदियो । उनी संक्रमित भए। आइसीयूमा राखियो। रेमडेसिभिर औषधि समेत चलाइयो।

कसरी संक्रमित हुनुको कुनै कारण उनी देख्दैनन्। संक्रमित भइसकेपछि अहिले उनको सोचाइ परिर्वतन भएको छ। कुनै पनि रोगसँग खेलाची गर्नु हुँदैन। आफूले सके जति सावधानी अपनाउनुपर्छ। उसो त उनले सावधानी नअपनाएका पनि होइनन्। 

संक्रमितको संख्या दिनप्रति दिन बढिरहेकै थियो। त्यही समयमा दाइ संक्रमित भए। र, होम आइसोलेसन बसे। घरमै बसेर आयुर्वेदिक औषधिको प्रयोग गरिरहेका दाइको प्रेसर एकाएक कम भयो। उनी आफैँले दाइलाई बोकेर अस्पताल पुर्‍याए।

उनले यकिनका साथ भन्‍‍न नसकेपनि दाइबाट आफूलाई सरेको हुनसक्छ भन्ने लाग्छ, कुनै बेला। प्रेसर कम भएर अस्पताल पुगेका दाइ निको भएर घर फर्किए। तर हाँस्य कलाकार मनोज गजुरेल भने अस्पतालमा बस्नुपर्ने स्थिति आयो। उनीमा संक्रमण देखिएको थियो।

एकपछि अर्को गर्दै कोरोना भाइरसका लक्षण देखिएका मनोजले केही दिन अटेरी गरे। तर उनको त्यो अटेरीमाथि कोरोना भाइरसको संक्रमण हावी भयो। र, अन्ततः उनी अस्पताल पुगे। संक्रमणले उनलाई गाँजिसकेको थियो।

उनको फोक्सोमा हावा भरिएको थियो जसले गर्दा फोक्सोले राम्रोसँग काम गर्न सकिरहेको थिएन। फोक्सोको हावा निकाल्न छाती चिरियो। कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रयोग गरिर्दै आएको रेमडेसिभिर औषधि चलाइयो।

प्रकाशित मिति: : 2021-01-17 18:05:00

प्रतिकृया दिनुहोस्