गुटगत निर्णय लिएर नेकपाका नेताहरु गाउँगाउँमा

राजधानी दैनिक

काठमाडाैं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहका शीर्ष नेताहरू गुटगत निर्णय एवं सन्देश लिएर अहिले गाउँगाउँमा कार्यक्रम गर्न व्यस्त भएका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि बसेको दोस्रो केन्द्रीय कमिटी बैठकले पार्टी एकताको सन्देश र पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले जिल्लाजिल्लामा आमसभा, भेला, बैठकलगायतका कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

तर पार्टीको निर्णयअनुसार कार्यक्रम गर्न जिल्ला पुग्न नसकेका शीर्ष नेताहरू अहिले गुटगत निर्णयका सन्देश लिएर गाउँगाउँसम्म पुगिरहँदा आम कार्यकर्तामा अन्योल र निराशा छाइरहेको छ । यद्यपि दुवै समूहले आआफ्नो कार्यक्रममा कार्यकर्ताहरू उत्साहका साथ लागिपरिरहेको दाबी गर्दै आएका छन् ।

पार्टी एकतापछि कार्यकर्ता र नेताका बीचमा कम संवाद एवं भेटघाट हुने गरेको भए पनि अहिले गुटगत विषयमा घनिष्ट रूपमा कुराकानी हुँदा त्यसले पार्टीलाई उन्नत बनाउन नसक्ने कार्यकर्ताको गुनासो छ ।

केही शीर्ष नेताको अडान र हठका कारण नेकपा दुई समूहमा विभाजित भइसकेको छ । विचार र सिद्धान्तभन्दा पनि पदीय भागबन्डाको लडाइँका कारण पार्टी विभाजन हुन पुगेको आम कार्यकर्ताको बुझाइ छ ।

५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध नेकपा दाहाल–नेपाल समूह आन्दोलित छ भने नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली समूह भने निर्वाचनको तयारीमा जुटेको छ ।

प्रकाशित मिति: : 2021-01-20 07:36:00

प्रतिकृया दिनुहोस्