बेतबाट बनेका सामानप्रति बढ्दो मोह

सांकेतिक तस्बिर

पछिल्लो समयमा बेतबाट बुनेका सामानप्रति मानिसको आकर्षण बढ्न थालेको छ । बढ्दो आकर्षणसँगै यसको व्यवसाय पनि फस्टाउँदै गएको छ ।
 कम मेहनत र थोरै लगानीबाट शुरु हुने यो व्यवसायबाट नाम र दाम दुबै कमाउन सकिने पूर्वाञ्चल बेत बाँस उधोगका सञ्चालक लक्ष्मी श्रेष्ठको भनाइ छ । 

विसं २०४९ देखि विराटनगरस्थित बसपार्क छेउमा बेतका सामान बनाएर बेच्दै आइरहेका व्यवसायी श्रेष्ठले बेतको उत्पादन नेपालमा कमै मात्रामा हुने गरेको जानकारी दिए । उनले बेतबाँसका सामान बनाउन छिमेकी राष्ट्र भारतबाट बेत मगाउने गरेको जानकारी दिए ।
    
बेतबाट कुर्सी, टेबल, ह्याङ्गर, सोफा, लठ्ठी, बच्चाको झलुङ्गा, पलङ, टुल, ढकीया, टेलिफोन राख्ने स्ट्याण्ड, मुढा, ¥याक जस्ता सामान बन्ने गरेको छ । बेत खरीद गर्दा मुठाको हिसाबले खरीद गर्नुपरेको र एक मुठाको रु  एक हजार २०० भारतीय रुपैयाँ पर्ने गरेको उनको भनाइ छ । उनका अनुसार एक मुठामा २० देखि २५ वटा बेत हुन्छन् । हेर्दा सजिलो व्यापार व्यवसाय भए पनि बेत ल्याउने झन्झटिलो छ । भन्सारमा धेरै समस्या झेल्नुपरेको अनुभव व्यवसायी श्रेष्ठको छ ।
    
शुरुमा व्यापार राम्रो नभए पनि यसप्रति बढ्दो मानवीय रुचि र  आकर्षणले यो व्यापार फस्टाउँदै गएको छ । व्यापार पनि राम्रै चलेको अनुभव व्यवसायी श्रेष्ठको छ । 'सामान बनाउनका लागि यहाँ दक्ष जनशक्ति वा मजदूरको अभाव छ' उनले भने, 'यस कार्यका लागि भारतबाट मजदूर ल्याउनुपर्ने अवस्था छ ।' विशेषगरी चाडपर्व र बिहेको लगनका समयमा यसको सामान बनाउन भ्याइनभ्याइ हुन्छ, उनले भने । मजदूर पाइए पनि बेतका सामान बनाउन तालीम प्राप्त कालीगढले मात्र सक्ने उनको भनाइ छ । 
    
यस उद्योगबाट उत्पादित सामान मोरङ, सुनसरी, झापा र धनगढी बजारसम्म बिक्री हुने गरेको व्यवसायी श्रेष्ठको भनाइ छ । बेतबाट बनेका बच्चाको झलुङ्गाको मूल्य रु तीन हजार ५०० देखि छ हजार, लुगा स्टेन्डको रु एक हजार ८०० देखि रु तीन हजार, मुढाको रु एक हजारदेखि दुई हजार २००, कुर्सीको रु एक हजार ८०० देखि चार हजार र  सोफाको सेट रु २० हजारदेखि ५५ हजार पर्ने गरेको बताइएको छ ।
    
रोजगारको अभावमा वर्षेनी विदेशिने युवाले यस्ता सीप सिक्न सके स्वदेशमै राम्रो आम्दानी गर्न सक्ने यहाँको व्यवसायीको भनाइ छ । रासस 

प्रकाशित मिति: : 2021-01-21 13:30:00

प्रतिकृया दिनुहोस्