१६५ लैङ्गिक विभेदमा आधारित हिंसाका घटना

बिएल संवाददाता

काठमाडाै‌ं
सांकेतिक तस्बिर

गत महिनामा मुलुकभर १६५ महिला तथा बालिकामाथि भएका हिंसाका घटना अभिलेखिकरण गरिएको छ ।

महिला पुन स्थापना केन्द्र (ओरेक)ले आज सार्वजनिक गरेको महिलामाथि हुने हिंसा सम्बन्धी पुस महिनाको प्रतिवेदनअनुसार सबैभन्दा ८८ वटा (५३ प्रतिशत) घरेलु हिंसा घट्ना रहेका छन् ।  
 
यसैगरी २८ वटा, बलात्कार, २७ सामाजिक हिंसा, आठ मानव बेचबिखन, चार यौन दुव्र्यवहार, चार हत्या, दुई बलात्कारको प्रयास, दुई विद्युतीय अपराधलगायतका घटना रहेको ओरेकको तथ्याङ्क छ । ओरेकले आफ्नो कार्यालयमा अभिलेखिकरण गरेका (१३९) तथा विभिन्न सञ्चारमाध्यमबाट प्राप्त २६ तथ्याङ्कका आधारमा १६५ लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क सङ्कलन गरेको जनाएको छ ।
 
उमेरको आधारमा विश्लेषण गर्दा सबैभन्दा धेरै ५७ जना १७ देखि २५ वर्ष उमेर समूहका महिला हिंसाको जोखिममा रहेको पाइएको छ । यसपश्चात हिंसामा पर्ने सबै भन्दा बढी ४६ जना २६ देखि ३५ वर्ष उमेर समूहका महिला छन् । 

यसैगरी प्रभावित र आरोपितको सम्बन्धलाई विश्लेषण गर्दा, सबैभन्दा बढी ७२ हिंसाका घटना श्रीमान्बाट भएको छ भने ३५ वटा हिंसाको घटना छिमेकीबाट र ३२ वटा परिवारका अन्य सदस्यवाट भएको पाइएको छ । 

तथ्याङ्क हेर्दा महिला हिंसा सबैभन्दा बढी सङ्ख्यामा आफ्नो श्रीमान्, आफन्त, घरपरिवारका सदस्य र आफु बस्ने समाजबाट हुने गरेको कार्यकारी निर्देशक लुभराज न्यौपानेले बताए । 

यस किसिमको हिंसाले महिला जहाँ छन् त्यहीँ नै असुरक्षित छन् भन्ने कुराको पुष्टी गरेको बताउँदै उहाँले घरेलु हिंसा तथा महिलामाथि हुने हिंसा अन्त्यका लागि व्यक्तिगत सोँच र व्यवहारमा परिवर्तन गर्नुपर्ने बताए । रासस 

प्रकाशित मिति: : 2021-01-21 14:45:00

प्रतिकृया दिनुहोस्