गाई पालेर युवाका लागि उदाहरणीय बने सप्तरीका प्रकाश तिवारी

शिलापत्र

काठमाडाै‌ं

 साैरभ यादव

कोरोना भाइरस (कोभिड-१९) महामारीले अहिले मानिसहरूको दैनिकी तथा श्रम अभ्यासमा ठूलो असर पारिरहेको छ । महामारीका कारण रोजगारी गुमेपछि गाउँ पुगेका युवालाई कृषिमा आवद्ध गराउने रोमाञ्चक गफ पनि सुनिन थालेका छन् ।

कोरोनाले गाउँ फर्केका धेरै युवा रोजगारीका पर्याप्त अवसर नभएको भन्दै फेरि विदेश जाने तयारीमा छन् । तर, सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका-६ वसन्तपुरका अनिल प्रकाश तिवारीले भने उन्नत जातका गाईपालन गरेर स्वदेशमै रमाइरहेका छन् ।

उनी गाउँमा केही गर्न सकिँदैन भन्नेहरूका लागि उदाहरणसमेत बन्न थालेका छन् । तीन वर्षअघि जेटीएको अध्ययन सकाएर गाईपालनमा लागेका उनी यतिबेला मासिक एक लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । बुबाले सुरु गरेको उन्नत जातका गाईपालनलाई निरन्तरता दिँदै उनी दूध बिक्री गरेर मनग्य आम्दानी गर्न सफल भएका हुन् ।

माउ, गोरु, बाछाबाछी गरी २० वटा गाई रहेको तिवारीको गोठमा अहिले ६ वटा गाईले दैनिक ६० देखि ७० लिटरसम्म दूध दिने गरेका छन् । अन्य समयको तुलनामा अहिले दूध बिक्री गर्नसमेत सहज रहेकाले आफ्नै गाउँठाउँमै गाईपालनमै रमाएर आम्दानी गर्दै आएको तिवारीले बताए ।

नेपालमा गाईबाहेक माछापालन, कुखुरा फार्म, हाँससहित खेतीपाती गरेर पनि प्रयाप्त आम्दानी गर्न सक्ने सम्भावना रहेको तिवारी बताउँछन् । 

प्रकाशित मिति: : 2021-01-21 15:35:00

प्रतिकृया दिनुहोस्