राजाको श्रीपेचलाई लात्ताले हान्यौं, तर केपीलाई हान्न सकेनाैं: प्रचण्ड

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केपी शर्मा ओलीलाई तह लगाउन नसकेकामा आत्मालोचना गरेका छन्।

प्रतिनिधि सभा विघटनविरूद्ध आज काठमाडौंमा आयोजित प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै उनले महाराजालाई फाले पनि ओलीविरुद्ध तह लगाउन नसकेकोमा आत्मालोचना गरेका छन्।

प्रचण्डले भने, ‘राजामहाराजाको श्रीपेच झिकेर लात्ताले हान्न सक्छन् भन्ने हामीले प्रमाणित गरेका थियौं। तर देशलाई प्रगतितर्फ लैजाने सपना तीन वर्षमा पुरा गर्न सकेनौं।’

प्रचण्डले वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको स्वीकार गरे। 

‘मैले सोचेको थिएँ पार्टी एकतापछि र दुई तिहाई ल्याएपछि घोषणापत्रमा भनेजस्तै सबै क्षेत्रमा न्यायको नयाँ युग सुरु हुनेछ। सुशासन र पारदर्शीताको नयाँ युग सुरु हुनेछ। सबै उत्पीडितले राहत पाउनेछन्। हामीले घोषणापत्र जस्तै गर्न नखोजेको पनि होइन। तर सुरुदेखि अभाष भएको थियो, केपीजीले सहमति गर्ने तर कार्यान्वयन एउटा पनि नगर्ने हुन् कि भन्ने। सत्ता प्राप्तपछि सहमतिअनुसार एउटा पनि काम नगर्ने लक्षण देखिएको थियो।आज के भन्न चाहन्छु भने हामीले यो तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं,’ उनले भने। 

उनले अब केपी प्रवृत्तिप्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने तर, प्रवृत्तिलाई अगाडि बढ्न दिने भुल नगर्ने समेत बताए। 

उनले भने, ‘केपी ओलीलाई मात्र दोष दिएर हामी चोखैं हुन्छौं भन्ने लागेको छैन। अब केपी प्रवृत्ति प्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने र उनको प्रवृत्तिलाई काम गर्न दिने भुल गर्ने छैनौं। त्यसो गरेर फाइदा हुने रहेछ।’

प्रकाशित मिति: : 2021-01-22 16:01:00

प्रतिकृया दिनुहोस्