माघ १४ गतेबाट कोराेना भाइरसविरुद्धको खोप लगाउन शुरु गर्छाैं: प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं
फाइल तस्वीर
फाइल तस्वीर

प्रधानमन्त्री ओलीले यही माघ १४ गतेबाट कोराेना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिने जानकारी दिएका छन् । 

सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा शुक्रबार  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  पहिलो चरणमा अग्रभावमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए ।

भारतले अनुदानस्वरूप दिएकाे कोरोनाविरुद्ध खोप नेपाल आइपुगेको छ। 

खोपलाई टेकुस्थित केन्द्रीय स्टोरमा राखिएकाे छ। खोप बढीमा पाँच दिनभित्र देशका सात प्रदेशमा पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

खोप देशैभरका अस्पतालहरुबाट एकैपटक लगाइने  मन्त्रालयले जनाएको छ। मन्त्रालयले खोप आएको एक हप्ताभित्र लगाइसक्ने गरी तयारी गरेको बताएको छ।

उक्त खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाइनेछ।

सरकारले पहिलो चरणमा तीन प्रतिशत अर्थात ९ लाख ११ हजार ३ सय ४२ जनालाई खोप लगाउने तयारी गरेको छ। अहिले भने १० लाख डोज मात्रै आएकाले पहिलो चरणमा करिब चार लाखलाई मात्र खोप लगाउन सकिने मन्त्रालयले जनाएकाे छ। 

यता सामारोहमा गृहमन्त्री रामबहादुर थापाले परिवर्तित वर्तमान अवस्थामा अहम् भूमिका निर्वाह गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिए । 

उनले सशस्त्र प्रहरीको १७ जिल्लाका अस्थायी गुल्मलाई स्थायी बनाउने र सीमा निगरानी चौकीलाई ५०० पुर्याउने लक्ष्य गृहमन्त्रालयको रहेको जानकारी दिए । 

सशत्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सङ्गठनले प्राप्त गरेको जिम्मेवारीलाई निर्भिक भएर पुरा गरेको जानकारी गराउँदै यस वर्ष सीमा निगरानी चौकीको सङ्ख्या बढाएर २२० पुर्याउने लक्ष्य राखिएको बताए ।

प्रकाशित मिति: : 2021-01-22 18:48:00

प्रतिकृया दिनुहोस्