अर्काको मिर्गौलाको बैसाखी टेकेर हिँडिरहेको छु, म पनि अपांग नै हुँ: प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं
फाइल तस्वीर
फाइल तस्वीर

 प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि अलिअलि अपाङ्गता भएको व्यक्ति भएको बताएका छन्। 

आइतबार ‘अपाङ्गता भएका व्यक्तिहरुको समस्या र सबाल’ साक्षात्कार कार्यक्रममा आफूलाई  ‘अपांग’सँग तुलना गरेका हुन्।

‘म पनि थोरैथोरै अपाङ्गता भएको मान्छे हुँ। मेरो पनि किड्नी फेल भएपछि अर्को जोडेर राखेको छु। अर्को किड्नीको बैशाखी टेकेर हिँडेको छु,’ उनले अघि भने।

उनले दुवै मिर्गौला फेरेर पनि अझै देश र जनताका लागि केही गर्न लागिपरेको भन्दै अपांगता भएका व्यक्तिहरुलाई हरेस नखान आग्रह गरे।

‘किड्नी फेरेर पनि बाँच्न सकिन्छ, काम गर्न सकिन्छ भन्ने आत्मविश्वास मैले देखेको छु,’ उनले अघि भने, ‘शायद यो पनि विश्व रेकर्ड नै होला, दुइटा किड्नी फेरेको कोही प्रधानमन्त्री छैन होला।’

उनले साहित्यकार तथा लेखक झमक घिमिरे लगायतका केही ब्यक्तिको उदाहरण दिंदै अपांगता भए पनि चेतनाले धेरै काम गर्न सकिने बताए।

‘अपाङ्गता भएर पनि अरुलाई जगाउनेहरु जोन हकिङ, झमक घिमिरे लगायत छन्,’ उनले भने, ‘उदयमान कलाकारहरु हुनुहुन्छ, जस्तो सजल बम। यस्तो थुप्रो साथीहरु हुनुहुन्छ, तालिम दिएर स्वरोजगार बनाउन सरकारका साथै अनेक संघ संस्थाले सहयोग गर्ने छ।’

उनले शारीरिक रुपमा भएको अशक्तता भन्दा मानसिक दरिद्रता खतरनाक हुने बताए। ‘कोहीकोही सबलांग छु भन्नेहरु देशको हितविपरीत लागेका छन्। शारीरिक रुपमा हुने कमजोरी भन्दा मानसिक दरिद्रता ज्यादै खतरनाक हुन्छ,’ उनले भने।  

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरु संविधान र लोकतन्त्रविरोधी 

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरु संविधान र लोकतन्त्रविरोधी भएको आरोप लगाएका छन्।

‘ देशमा स्थिरता नचाहनेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका हुन्। उहीहरुले यो कदम असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन्, ती कराउने मान्छेहरु संविधान, लोकतन्त्र, देश र जनविरोधी हुन्’, उनले भने।

बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने र अस्थिरता ल्याउन खोजेकाले ताजा जनादेशमा जानु परेको उनले बताए।

उनले भने, ‘किनबेच र तिकडम गरेर मै शासक रहन्छु भनेको छैन। मैले त जनताका बीचमा जाउँ भनेको छु। बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने र अस्थिरता ल्याउन खोजेकाले ताजा जनादेशमा जानु परेको हो।’

उनले अधिकार आफ्ना हातमा नलिएर जनतामा जाने फैसला गरेको बताउँदै आफू तानाशाह नभएको प्रस्ट पारे।

‘मैले आफ्ना हातमा लिएको छैन, आफ्ना हातमा लिएको भए तानाशाह हुन्थ्यो’, उनले भने, ‘तपाईंहरुका बीचमा गएर, तपाईंहरुले फैसला गर्नुहोस् भन्दा म तानाशाह भएँ?, मैले त फैसला गरेको छैन।’ 

उनले आगामी निर्वाचनबाट देशको अहितमा काम गर्नेहरुलाई गेठान लगाउन आग्रह गरे।

अहिले सडकमा ‘खाते’ छैन

उनले अहिले सडक बालबालिका नरहेको बताए। 

उनले भने, ‘हिजो सडकभर बालबालिका थिए। उनीहरुलाई खाते भनेर अपमान गर्ने गरिएको थियो। म भन्न चहान्छु अहिले कुनै पनि नेपालीको छोराछोरीले खाते भन्ने सन्नु परेको छैन। हामी नेपालीका छोराछोरीलाई खाते हुन दिँदैनौं। अहिले सडकमा खाते छैन।’

सडकमा सहयोगापेक्षी मानव पनि नरहेको बताए। त्यस्ता मानिसहरु खोजीखोजी ल्याउने र उपचार तथा खानेवस्ने प्रवन्ध गरिरहेको उनले बताए।

प्रकाशित मिति: : 2021-01-24 16:51:00

प्रतिकृया दिनुहोस्