अमेरिकी सरकारसँग वार्ता र समझदारीमार्फत् राम्रो सम्बन्ध राख्न मदुरो इच्छुक

बिएल संवाददाता

न्युयाेर्क

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकाको जनता र सरकारसँग वार्ता र समझदारीमार्फत् राम्रो सम्बन्ध राख्न आफू इच्छुक रहेको बताएका छन्।

अमेरिकाको राष्ट्रपतिमा जो वाइडेन आएपछि मदुरोले अमेरिकासँग सम्बन्ध सुधारको प्रयास थालेका हुन्।

‘हामी राष्ट्रपति जो वाइडेनको सरकारसँग आपसी सम्मान, वार्तालाप, सञ्चार र समझदारीमा आधारित सम्बन्धको नयाँ धारमा चल्न इच्छुक छौँ,’ नेता मदुरोले भने। 

 डोनाल्ड ट्रम्पको शासनकालमा अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध तनावपूर्ण थियो।
 
वामपन्थी नेता मदुरोलाई अमेरिकाले एक ‘तानाशाह’ का रूपमा हेर्दै आएको छ। ट्रम्प प्रशासनले मदुरोलाई सत्ताबाट हटाउन भेनेजुयलाविरूद्ध सन् २०१९ देखि प्राकृतिक ग्यास र तेलको कारोबारलगायतका कैयौँ आर्थिक प्रतिबन्धको घोषणा गरेको थियो। 

अमेरिकी सरकारले विपक्षी नेता जुआन गुएइदोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दिएपछि २३ जनवरी २०१९ मा दुई देशबीचको कूटनीतिक सम्बन्ध पूर्णरूपमा तोडिएको थियो।

वाइडेन प्रशासनले भेनेजुएलाबारे निकै नरम अडान लिने र नयाँ सङ्क्रमणकालीन सरकार निर्माणका लागि अन्तर्राष्ट्रिय मध्यस्थतामा अघि बढ्ने विश्वास विश्लेषकहरूले लिएका छन्।
 

प्रकाशित मिति: : 2021-01-25 07:39:00

प्रतिकृया दिनुहोस्