ओलीमाथि नेपालकाे टिप्पणी– सुन्दै छु जिल्ला–जिल्ला गएर डमरु बजाउँदै छन् रे?

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला–जिल्ला गए गरेको प्रचारप्रति टिप्पणी गरेका छन्।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले ओली समूहले जिल्लाजिल्लामा गएर केन्द्रीय सदस्यका लागि डमरु बजाएको भन्दै त्यसको भुलभुलैयामा नपर्न पनि कार्यकर्तालाई आग्रह गरे।

‘सुन्दै छु जिल्ला–जिल्ला गएर डमरु बजाउँदै छन्, को आउनुहुन्छ आउनुस्, टिकट लिनुस्, केन्द्रीय सदस्य बन्नुस् भनेर। यो भुलभुलैयामा नपर्नुहोला,’ उनले भने।

यस्तै उनले ओली समूहको पार्टीको ‘भिजन’ नभएको भन्दै  धुलो छाप पार्टीको संज्ञा दिए। 

‘ओलीको पार्टी धुलो छाप हो। कोही नजानुहोला,’ नेपालले भने, ‘दर्जनौं मानिस पार्टीको केन्द्रीय कार्यालयमा आएर केन्द्रीय सदस्य चाहिँदैन भनेर सबैको बीचमा घोषणा गर्नुभएको छ। त्यो कुनै पार्टी हो? त्यो पौवा पनि होइन, धर्मशाला पनि होइन। त्यसको कुनै काम छैन।’

ओलीले वैशाखमा चुनाव गराउँछन् भनेर भ्रममा नपर्न पनि नेपालले आग्रह गरे। 

‘केपी ओलीको चुनाव गराउने चाहना छैन। तीन महिनामा चुनाव गरेर उहाँ बालकोट जानुहुन्छ? यो पाँच वर्ष बस्छु, अर्को पाँच वर्ष पनि बस्न संकटकाल लगाएर भए पनि, तानाशाही लादेर भए पनि सत्तामा टाँसिएर बस्छु भन्ने उहाँको चाहना हो,’ नेपालले भने 

प्रकाशित मिति: : 2021-01-25 15:39:00

प्रतिकृया दिनुहोस्