सहकारीले खोल्यो सुपथ मूल्यका पसल

सांकेतिक तस्बिर

कपिलवस्तुको बुद्धभूमि–४ बुड्डीस्थित सूर्य बहुउद्देश्यीय सहकारी संस्थाले सुपथ मूल्यका पसल सञ्चालन गरेको छ । 

लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा सुपथ पसल सञ्चालन गरेको हो । सुपथ पसल नाम दिएर सञ्चालनमा ल्याएको उक्त पसलले सुपर मार्केटको झल्को दिने गरी सञ्चालनमा आएको छ । 

सोमबारदेखि औपचारिक रुपमा शुरु भएको सो पसलका लागि लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थालाई रु २१ लाख अनुदान दिएको थियो । 

अनुदान रकममध्ये रु १६ लाख भवन निर्माणमा र रु सात लाख पसल सञ्चालनमा लगानी गरिएको छ । सुपथ पसल सञ्चालनका लागि संस्थाले थप रु ३५ लाख लगानी गरेको छ । 

पसल सञ्चालन भएपछि स्थानीयस्तरमा उत्पादन सामग्री बिक्री वितरणमा सहज भएको सूर्य बहुउद्देशीय सहकारी संस्थाका व्यवस्थापक लेखनाथ खनालले बताए । 

पसलमा स्थानीयस्तरमा उत्पादन भएका खाद्यान्न, मरमसला, दैनिक उपभोग्य हुने सामग्री खरीद बिक्री हुनेछ । सुपथ पसल सञ्चालनमा आएपछि कालोबजारी निरुत्साहित भई सहुलियत दरमा सामग्री खरीद गर्न पाउने स्थानीय रुपेशकुमार श्रेष्ठले बताए । स्थानीय कृषकले उत्पादन गरेका तरकारी, सहकारीका सदस्यले उत्पादन गरेका सामग्री सिधँै ग्राहकसँग पुग्ने भएपछि बिचौलियाले खाने कमिसनसमेत अन्त्य हुने विश्वास गरिएको छ । 

अहिले स्थानीय बजारमा बिक्री गर्ने योजना रहे पनि आगामी वर्षदेखि अन्य सुपथ पसलसँग समन्वय गरी बाह्य जिल्लामा स्थानीय उत्पादन बिक्री गर्ने लक्ष्य लिएको सहकारीका अध्यक्ष मुरलीधर घिमिरेले बताए । सहकारीमा ८०० बढी शेयर सदस्य रहेका छन् । शेयर सदस्यका लागि विशेष छुटकोसमेत व्यवस्था गरिएको बताइएको छ । रासस 

प्रकाशित मिति: : 2021-01-26 16:40:00

प्रतिकृया दिनुहोस्