सर्वोच्चका ‘मुख्य रजिस्ट्रार’ पद उच्च अदालतको न्यायाधीश बन्ने मूल ढोका

शिलापत्र

काठमाडौँ

मनबहादुर बस्नेत

११ माघमा बसेको न्यायपरिषद् बैठकले उच्च अदालतका तीनवटा रिक्त पदमा मुख्य न्यायाधीश नियुक्तिको निर्णय गर्‍यो । दुइटामा उच्च अदालतकै न्यायाधीशबाट र एक जना न्याय सेवाबाट मुख्य न्यायाधीश छानिए । न्यायाधीशद्वय प्रकाशचन्द्र गजुरेल र नीता गौतम दीक्षितसहित सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नृपध्वज निरौलालाई परिषद्ले मुख्य न्यायाधीशमा चयन गरेको छ । 

निरौलाको नियुक्तिसँगै न्यायपालिकामा ०७४ मा सिर्जित मुख्य रजिस्ट्रारको पदमा पुग्ने सबै उच्च अदालतको न्यायाधीश र मुख्य न्यायाधीश बन्न सफल भएका छन् । यसअघि नहकुल सुवेदी, राजनप्रसाद भट्टराई मुख्य रजिस्ट्रारबाट उच्च अदालतमा उक्लिएका थिए । अर्को संयोग कस्तो भने तीन जना नै मुख्य रजिस्ट्रार पदमा पूरा अवधि नगुजारी न्यायाधीशमा फड्किए । मुख्य रजिस्ट्रारको पदावधि तीन वर्ष तोकिए पनि कसैले पूरा कार्यकाल बिताएका छैनन् ।  

उच्च अदालत पस्ने मूल ढोका 

मुख्य रजिस्ट्रार पदमा सबैभन्दा लामो अवधि बिताउने पात्रचाहिँ पछिल्लो पटक नियुक्ति हासिल गरेका निरौला नै हुन् । उनी ठ्याक्कै दुई वर्ष जिम्मेवारीमा बसे । १४ माघ २०७५ मा निरौला मुख्य रजिस्ट्रार बनेका थिए । भट्टराईले एक वर्ष मुख्य रजिस्ट्रारको जिम्मेवारी लिएपछि उच्च अदालतको न्यायाधीश बन्ने मौका पाएका थिए । उनी १८ माघ ०७४ देखि ७ माघ ०७५ सम्म मुख्य रजिस्ट्रार भए । 

०७४ मा न्यायपालिकामा मुख्य रजिस्ट्रार पद सिर्जना गरिएको थियो । त्यसयता तीन जना यो पदमा पुगेर उच्च अदालतमा नियुक्ति पाए । यी प्रकरणले यो पदलाई उच्च अदालतमा नियुक्ति लिने मूल ढोकाको रूपमा उपयोग गरिएको व्याख्या हुन थालेको छ । 

प्रकाशित मिति: : 2021-01-26 21:11:00

प्रतिकृया दिनुहोस्