राजधानीका थप दुई ठाउँमा ट्राफिक लाइट सञ्चालन

बिएल संवाददाता

काठमाडाै‌ं

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजबाट नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याएको छ। 

सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उदेश्यले कृष्णपाउरोटी चोकमा प्राईम कमर्सियल बैंक लिमिटेड र गैह्रीधारामा सनराइज बैंकसँग समन्वय गरी नयाँ ट्राफिक लाइट सञ्चालनमा ल्याएको हो।  

नयाँ जडान गरिएको कृष्णपाउरोटी चोकको ट्राफिक लाइट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र प्राईम बैंकका एसिसटेन्ट जेनरल मेनेजर अनिता प्रधानले संयुक्त उद्‍घाटन गरेका थिए भने गैह्रिधाराको ट्राफिक लाईट महाशाखा प्रमुख भट्टराई र बैंकका सिईओ जनक शर्मा पौडेलले गरेका हुन्। 

ट्राफिक प्रहरी महाशाखा र बैंकका पदाधिकारीहरु उपस्थित रहेको कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले काठमाडौं उपत्यकामा भइरहेको चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइदै आएको बताए। 

'हामी ट्राफिक व्यवस्थापनलाई प्रविधितर्फ लग्ने प्रयासरत छौ, यसको लागी सडक विभाग बाहेक स्थानिय निकाय, विभिन्न बैंक बित्तिय संघसंस्थाहरुसँग निरन्तर समन्वय सहकार्य गर्दै आइरहेका छौं। आज जडान भएका लाईट त्यसैको परिणाम हो र आगामी दिनहरुमा अन्य चोकहरुमासमेत ट्राफिक लाइट राख्न हातेमालो गर्ने योजनासमेत गरिरहेका छौं' उनले भने। 

 बैंकको सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई लाईटले सहयोगी भुमिका खेल्ने बताउदैं प्राईम बैंकका एजिम प्रधानले भने, 'आगामी दिनहरुमासमेत ट्राफिक महाशाखासँग सहकार्य गर्नेछौं।'

सनराईज बैंकका सिईओ पौडेलले ट्राफिक लाईटको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण खेलेको बताए।

महाशाखाले हालसम्म उपत्यकाको मुख्य ३० वटा चोकहरुमा ट्राफिक लाईटबाट ट्राफिक व्यवस्थापन गर्दै आएको छ।

ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदैं दुर्घटना न्युनिकरणको लागी आगामी दिनहरुमा अन्य चोकहरुमा लाईट जडानको लागी समन्वय एव सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ।

जडान गरिएको लाइटको पूर्ण पालना गरिदिन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोधसमेत गरेको छ। 

प्रकाशित मिति: : 2021-01-28 13:49:00

प्रतिकृया दिनुहोस्