प्रधानमन्त्री बोलिरहँदा मञ्चमै रोकेर सूर्य थापाले किन गरे कानेखुशी ? (भिडियो)

 प्रधानमन्त्री केपी शर्मा ओली नारायणहिटी राजदरबारको मूलढोकाअगाडि बनाइएको मञ्चबाट धाराप्रवाह भाषण गरिरहेका थिए।

मञ्चको अगाडि दरबारमार्गदेखि रत्नपार्क, बायाँतर्फ जयनेपाल हलसम्म र दायाँतर्फ केशरमहलअगाडिसम्म खचाखच थिए, सहभागी। रमाइलो शैलीमा भाषण गर्ने ओलीको आक्रामक भाषणमा सहभागी हरु तलबाट ताली बजाइरहेका थिए।

प्रधानमन्त्री भाषण दिनमा रमिरहेका थिए। प्रधानमन्त्रीले सम्बोधन थालेको करिब आधा घण्टा बितेको थियो । उनको वाकपटुता निरन्तर फुरिरहेको थियो।

एकाएक मञ्चमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार मञ्चमा देखापरे। उनी प्रधानमन्त्री भएकै ठाउँमा पुगे। त्यत्रो जनसागरबीच बोलिरहेका प्रधानमन्त्रीलाई उनले बीचैमा रोके।

प्रधानमन्त्रीको कानमा करिब ४० सेकेण्डजति कानेखुशी गरे। प्रधानमन्त्रीले बोल्दाबोल्दै रोकिएर कान थापेर प्रेस सल्लाहकार थापाका कुरा सुने। प्रधानमन्त्री ओलीसँग कानेखुशी गरी उनलाई सुझाव दिएपछि थापा फर्किए। अनि ओलीले फेरि भाषण अघि बढाए।

यतिबेला राजा महेन्द्रको शालिकतिरको मास हल्ला गर्दै मञ्चतिर अघि बढ्दै थियो। कारण थियो– राजा महेन्द्रको शालिकअगाडि राखिएका माइकहरुबाट आवाज सुनिइरहेको थिएन।

मञ्चअगाडिको, दरबारमार्ग, केशरमहल, दरबारमार्ग र जयनेपाल हलतिरका माइकहरु बजिरहेका थिए तर मञ्चअगाडि निकै टाढाको माइक नबजेको प्रधानमन्त्रीलाई कुनै जानकारी थिएन।

प्रेस सल्लाहकार थापाले त्यही माइक नबजेको र त्यसै कारण सहभागीले सुनिएन भनेर कराएको जानकारी प्रधानमन्त्री ओलीलाई गराएका थिए।

‘प्रधानमन्त्रीले त्यत्रो मासमा बोलिरहँदा उहाँसँग मञ्चमै गएर बोल्न रोकेर तपाईंले के कानेखुशी गर्नुभएको ?’ भन्ने बिएल नेपाली सेवाको जिज्ञासामा थापाले भने, ‘दरबारमार्ग अगाडिको माइक बज्न छाडेकोले सहभागीले सुन्न नसकेको सूचना मैले उहाँलाई दिएँ। त्यसैले भाषण अलि छोटो गर्दा उचित हुन्छ कि भन्ने सुझाव दिएको थिएँ।’

अपरान्ह २ः२२ बजेदेखि बोल्न थालेका प्रधानमन्त्री ओलीले शुक्रबारको सभामा करिब ५० मिनेट सम्बोधन गरेका थिए।

प्रधानमन्त्री बोल्न थालेपछि करिब २० मिनेट सबै माइक बजेका थिए तर त्यसपछि घण्टाघरपट्टिको ‘मास’ले माइक बज्न छाडेकाले सुन्न सकेन।

अनि सहभागीहरु भाषण सुन्न महेन्द्रको शालिकबाट मञ्चतर्फ लागेका थिए। माइक नबजेको सूचना स्वयम्सेवकका कमान्डर महेश बस्नेतकहाँ सञ्चार–सेटमार्फत् पुगिसकेको थियो।

यो सूचना उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेललाई दिए। मुख्यमन्त्री पोखरेलले माइक नबजेकाले टाढाका सहभागीले प्रधानमन्त्रीको सम्बोधन सुन्न नसकेका प्रेस सल्लाहकार थापालाई जानकारी दिए।

पोखरेलले दिएको जानकारीअनुसार, थापा प्रधानमन्त्री ओलीलाई अगाडिको माइक नबजेको जानकारी दिन मञ्चमा पुगेका थिए। थापाले जानकारी गराएपछि प्रधानमन्त्री ओलीले सम्बोधन छोट्याए।

थापाको सुझावपछि करिब २० मिनेटमा प्रधानमन्त्रीले आफ्नो सम्बोधन सकेका थिए। प्रत्यक्ष प्रशारण हेर्ने र सभामै सहभागी भएकाहरुबीच भने थापाले प्रधानमन्त्री ओलीलाई बीचैमा रोकेर यति लामो के भने भन्ने जिज्ञासा पैदा भएको थियो।

प्रचण्डलाई ओलीको प्रश्न- शाकाहारी आन्दोलनले हुँदैन भनेको नरभक्षी आन्दोलन गर्न खोजेको हो ? (भिडियो)

प्रकाशित मिति: : 2021-02-05 22:07:00

प्रतिकृया दिनुहोस्