प्रचण्डलाई ओलीको प्रश्न- शाकाहारी आन्दोलनले हुँदैन भनेको नरभक्षी आन्दोलन गर्न खोजेको हो ? (भिडियो)

नेपाल कम्युनिष्ट पार्टी नेकपा (ओली) पक्षका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीलाई मूल पार्टी भएको बताएका छन्।

काठमाडौंको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले आम जनतालाई मूल पार्टी कुन हो भन्ने कुरामा नझुक्किन आग्रह गरेका छन्।

‘अब शाकाहारी आन्दोलनले भएन’ केही दिनअघि प्रचण्डले दिएको यो अभिव्यक्तिलाई स्मरण गर्दै उनले भने, ‘शाकाहारी आन्दोलनले भएन भन्नुको मतलब चिकेन चिल्ली खान्छु भन्नु हो? उहाँहरुले नरभक्षी आन्दोलन गर्न खोजेको हो। नरभंक्षी आन्दोलनका दिन गए। अब नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन।’

वर्तमान, इतिहास र देश बनाउने संकल्प बोकेकाले आफूले नेतृत्व गरेको पार्टी नै मूल भएको र आजबाट यसको फैसला भएको ओलीको भनाइ थियो। 

ओलीले भने, ‘मूल पार्टी कुन हो भन्ने अझै अन्योल र अलमल छ भने उनीहरुलाई कठैबरा भन्न सकिन्छ। मूल पार्टी यही हो, तपाईं–हामी जहाँ छौँ। ‘यो कम्युनिस्ट पार्टीको मात्र होइन, देशकै मूल पार्टी हो। देशकै ठूलो पार्टी हो। देश बनाउने पार्टी हो। देशको रक्षा गर्ने पार्टी हो। नेकपा देशको स्वाधीनताको रक्षा गर्ने पार्टी हो, लोकतन्त्रको लागि सात दशक संघर्ष गरेको पार्टी हो, देश बनाउने संकल्प बोकेको पार्टी हो।’

आजबाट मूल पार्टी को हो भन्ने टुंगो लागेको दाबी गर्दै उनले भने,  ‘कुन सक्कली, कुन नक्कली भन्ने फैसला भयो। मानिसको चापाचाप देखेर नै थाहा हुन्छ कि, मूल पार्टी हाम्रै हो।’

नेकपा र सूर्य चिन्ह ओलीले नेतृत्व गरेको पार्टीको हो : उपप्रधानमन्त्री ईश्वर पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपाको वैधानिकता केपी शर्मा ओलीले नेतृत्व गरेको आफ्नो समूहले पाउने दाबी गरेका छन्।

आमसभालाई सम्बोधन गर्दै उनले भने, 'सूर्य चिन्ह केपी शर्मा ओली नेतृत्वको नेकपाको हो। आगामी चुनावमा सूर्य चिन्ह लिएर जनादेशमा जान्छौं।'

प्रचण्डले ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन खोजेको आरोप लगाउँदै नेता पोखरेलले भने, 'देशका केही राजनीतक तत्वहरुले मुलुकलाई अस्थिरतातर्फ लैजान खोजे। त्यस्ता तत्वहरु विस्थापित नहुनेबेलासम्म आन्दोलनमा लागिरहने छौँ।

मांसाहारी आन्दोलन गर्नेहरुलाई चिडियाखानामा लैजानुपर्छ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा ‘ बादल’ ले मांसाहारी आन्दोलन गर्नेहरुलाई चिडियाखानामा लैजानुपर्ने बताएका छन्।

गृहमन्त्री थापाले देशमा तेस्रो जनआन्दोलनको सुरुवात हुन् थालेको बताए।

'आज सिंगो देश समाजवादको पक्षमा आन्दोलित भाको छ, गृहमन्त्री थापाले भने, ‘यसले तेस्रो जनआन्दोलनको सिर्जना गरेको प्रष्ट भएको छ । देशमा अहिले असाधारण आन्दोलनको थालनी हुनुको पछाडि धेरै राजनीतिज्ञहरुले भूमिका खेलेका छन्।

प्रकाशित मिति: : 2021-02-05 14:42:00

प्रतिकृया दिनुहोस्