काभ्रेका तीन नगरमा खानेपानी

बिएल संवाददाता

काभ्रेपलाञ्चोक
फाइल तस्वीर
फाइल तस्वीर

काभ्रेपलाञ्चोक उपत्यका एकीकृत खानेपानी आयोजनाको काम ९७ प्रतिशत सकिएको छ। खानेपानीको समस्याबाट गुज्रिएका काभ्रेपलाञ्चोकका धुलिखेल, बनेपा र पनौतीका बासिन्दाले अब केही महिनामै २४ सै‌ घण्टा स्वच्छ खानेपानी पाउने भएका छन्।

तीन नगरका करिब ९३ हजार बासिन्दालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले दश वर्षअघि नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी)बीच ऋण सम्झौता गरी आयोजनाको प्रक्रिया शुरु गरिएको हो।

सन् २०१० अक्टोबर २६ मा सम्झौता गरिएको खानेपानी आयोजना करिब रु एक अर्बमा सम्पन्न हुने जनाइएको छ। आयोजनाको रिजर्भवायर ट्याङ्की निर्माण र पाइप ओछ्याउने लगायतका भौतिक पूर्वाधारको काम सम्पन्न भएको आयोजनाका सामुदायिक विकास अधिकृत कृष्णप्रसाद कायस्थले जानकारी दिए।

कायस्थका अनुसार भौतिक पूर्वाधार निर्माणको काम सकिएपछि हाल पनौतीको शारदादेवी स्थानमा पानी पुर्याइएको छ। पानी वितरणका लागि व्यवस्थित गरिएका पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम गर्ने योजना रहेको उनले बताए।  उनले भने , “मुख्य तथा अन्य पाइपलाइनको परीक्षण गर्ने समय तालिका मिलाउँदै छौँ, त्यसपछि घरमा धारा जडानका लागि अपिल गर्ने योजना छ।” आयोजनाअन्तर्गत अन्तिम चरणमा तीनै नगरमा हाल सञ्चालित खानेपानी आयोजना तथा उपभोक्ता समितिमार्फत वितरण भएको पानीको पाइपमा नयाँ खानेपानीको पाइपजडान गर्ने (इन्टर कनेक्सन) गरिनेछ।

तीन नगर र सडक विभागले सडक विस्तारका क्रममा कतिपय स्थानमा खानेपानीको पाइप फुटेकाले खानेपानी अयोजनाको काममा ढिलाइ भएको बताइएको छ। आयोजनाअनुसार क्षति पुर्याएका नगर र विभागले नै बनाइदिने छन्। तीन नगरमा एक हजार ११४ इन्टर कनेक्सन गर्नुपर्नेमा हाल ६०० भन्दा बढीमासो काम भइसकेको आयोजनाले जनाएको छ। उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन फिल्टर मिडिया जडानको कामसमेत बाँकी छ।

चिनियाँ ठेकेदार कम्पनी निम्वो निङसिङ इन्टरनेशनल इङ्कले एक महिनाभित्र काम सकाउने जनाएको छ। आयोजना सम्पन्न भएपछि सन् विसं २०२४ सम्मको लागि तीन नपाका करिब ९३ हजारको लागि ‘नेपाल स्टायण्डर्ड’को पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाउने जनाइएको छ। “अबको केही महिनामा तीन नगरका जनताले स्वच्छ पिउने खानेपानी पाउँदै छन्, यो निकै सुखद् विषय बन्नेछ”, धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले भने । उनका अनुसार विविध कारणले आयोजनाको काम केही वर्ष धकेलिएको हो। यस आयोजनालाई तत्कालीन अवस्थामा एडीबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाको रुपमा हेरिएको थियो। आयोजनाको कूल लागत भ्याट बाहेक ९९ करोड ८ लाख ७ हजार ८२१ रहेको छ।

आयोजनाको कूल लागतको ५० प्रतिशत रकम नेपाल सरकार र एशियाली  विकास  बैंकवाट  अनुदान, ३५ प्रतिशत रकम नगर विकास कोषबाट ऋण विसं २०६९ असारमा लिइएको छ। बाँकी १५ प्रतिशत रकम भने तीनवटै नगर र स्थानीय उपभोक्ताबाट ब्यहोरिने छ। वार्षिक पाँच प्रतिशत ब्याज तोकिएको उक्त ऋणको साँवा र ब्याज तीनवटै नगरबाट २० वर्षभित्र चुक्ता गरी सक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ।रासस

प्रकाशित मिति: : 2021-02-06 09:22:00

प्रतिकृया दिनुहोस्