भागरथी हत्या घटना : 'लिडिङ प्वाइन्ट' खोज्दै प्रहरी

नेपाल लाइभ

काठमाडौँ

नारायण अधिकारी

बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट हत्या घटनाको अनुसन्धान प्रगतिउन्मुख भएको प्रहरीले जनाएको छ। बिहीबारदेखि अनुसन्धानमा खटिएको प्रहरी टोलीले अनुसन्धानका पाटा साँघुरिदै गएको जनाएको छ।

घटनास्थलबाट किशोरी भट्टको मोबाइल भेटिनुलाई प्रहरीले धेरै ठूलो उपलब्धिको रूपमा लिएको छ। मोबाइलबाट अभियुक्तसम्म जोडिनसक्ने संकेत फेला पर्न सक्ने प्रहरीको विश्वास छ। यसको प्राविधिक पाटोबारेमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले जनाएको छ। सिआइबीका डिआइजी सहकुल थापाले अनुसन्धानमा जिल्लाको टोलीलाई सिआइबीको टोलीले टेक्निकल पाटोमा सहयोग गरिरहेको बताएका छन्।

सिआइबीमार्फत् टेक्निकल पाटो केलाइएको छ भने स्थानीय प्रहरीले पनि 'म्यानुअल्ली' घटनाको अनुसन्धान गरिरहेको छ। अहिलेसम्मको अनुसन्धान प्रगतिबारे नेपाल लाइभसँग कुरा गर्दै सुदूरपश्चिम प्रदेशका निमित्त प्रवक्ता एसएसपी मुकेश सिंहले भने, ‘अनुसन्धान प्रगतिउन्मुख छ। अहिलेसम्म लिडिङ प्वाइन्ट भने फेला पर्न सकेको छैन।’

अनुसन्धानको दायरा साँधुरो हुँदै गएपनि 'लिडिङ प्वाइन्ट' नभेटिएकाले अनुसन्धानले केही समय लिनसक्ने प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2021-02-07 21:02:00

प्रतिकृया दिनुहोस्