घटना १ः- सिस्ने ३६ (नाम परिवर्तन) दुर्गम रुकुमको बिकट गाउँमा जन्मेकी छोरी। राजनीतिबारे अनभिज्ञ उनले समाज बुझ्ने बेला देशमा द्वन्द्व चलिरहेको थियो। तर कारण थाहा थिएन। घर नजिकै प्रहरी चौकि थियो। ती दिनमा घरगाउँ वरपर प्रहरीको आउजाउ बाक्लो हुन्थ्यो।
२०५६ सालको गर्मी महिना। एकदिन उनी घरमा काम गर्दै भिइन्। एकजना प्रहरी घरभित्र पसेर ‘तेरो श्रीमान खै’ भन्दै सोधपुछ गर्न थाल्यो। श्रीमान मजदुरीको लागि भारत गएको भनि नसक्दै प्रहरीले बन्दुक देखाएर चिच्याएमा मार्ने धम्कीका साथ बलात्कार गर्यो।
कसैलाई सुनाउन समेत नमिल्ने पीडा भोगेकि सिस्ने ३६ को दुर्भाग्य उनी गर्भवती भइन्। गर्भमा बच्चा आएको थाहा पाएर हरेक दिन पेटमा चोट पुर्याइन, आफैंलाई कुटिन तर उनको गर्भ बढिरह्यो।
श्रीमान घर बाहिर भएकी महिला गर्भवती हुँदा समाजले हेर्ने नजर फरक हुन् थाल्यो। श्रीमान भारतबाट आउदा बच्चा जन्मिएको। उनले यति धेरै पीडा पाइन तर जाने ठाउँ कतै भएन। अति भएपछि छोरा लिएर मर्न खोजिन् तर बच्चाको ममताले मर्न सकिनन्।
आफ्नो अनुपस्थितीमा छोरो जन्मिएको ग्लानीले श्रीमानले मदिराको सहारा लिए। त्यहि रक्सीका कारण सबै सम्पत्ती समेत सकेर श्रीमानको मृत्यु भयो। श्रीमान मरेपछि उनी पनि संगसंगै सडकमा आइन्।
घटना २ः- सिस्ने २६ (नाम परिवर्तन) २ छोरा र १ छोरीकी आमा। दिनभर मजदुरी नगरे साझ बिहानको छाक टार्न नपुग्ने। २०५६ साल जाडो महिना। घरमा काम गरिरहेकी भिइन्। माओवादी खोज्दै आएका ३ जना बन्दुकधारी प्रहरीले घर खोजतलास गर्दै श्रीमानको हात खुट्टा बाँधेर छोराछोरी समेतलाई अर्को कोठामा हुलेर सामुहिक बलात्कार गरे।
श्रीमतीमाथि सामुहिक बलात्कार भएको पल्लो कोठाको झ्यालबाट देखेका श्रीमान पीडा सहन नसकि मादक पदार्थको कुलतमा फसे। केहि समयपछि हरेक दिन श्रीमतीलाई त्यहि घटना सम्झाउँदै तनाव दिन र लिन थाले। केहि समयपछि मानसिक समस्याका कारण आत्महत्या गरे।
श्रीमान मरेको केहि समयपछि आमालाई सामुहिक बलात्कार भएको देखेकी छोरीले पनि बिष खाइन्। अहिले उनी मानसिक समस्याले ग्रस्त भएर मर्नु न बाच्नु दोसाधमा छिन्।
घटना ३ः- सिस्ने १६ (नाम परिवर्तन) दुर्गम गांँउको अर्की बिपन्न महिला। देशमा १० बर्षे द्वन्द्व चलेको थियो। परिवार, कुटो अनि कोदालोसंग पिरती गाँसेकी उनलाई राजनीति कुन चराको नाम हो केहि थाहा थिएन। श्रीमान पनि राजनीतिबाट टाढै थिए।
२०५६ सालको जेठ १४ गते गोठमा गएका श्रीमानलाई माओवादी खोज्दै आएका प्रहरीले आतंककारीको नाममा हत्या गरे। निर्दोश थिए उनी। राजननिति थाहा नपाएको गाउँको सोझा ब्यक्ति थिए। तर पनि अनाहकमा मारिए।
बुढा ससुरा अनि ६ महिने बच्चाको जिम्मेवारी उनको काँधमा आउँछ। श्रीमान मारिएपछि कष्टकर दैनिकी चलाउदै गर्दा अर्को बर्ष गाउँमा अस्थाइ पोष्ट खडागरी आएका प्रहरीले ससुराकै अगाडि सामुहिक बलात्कार गरे। त्यसको करिब १ महिना उनलाई हरेक रात बलात्कार गर्न थालेपछि बुहारीको पीडा देखेका ससुराले सिस्ने १६ लाई जंगलमा रात कटाउन पठाउछन्।
सानो बच्चा च्यापेर हरेक रात जंगलको ओडारको बसाई। रातभरी छोरा रुने कराउने, जंगली जनावरको डरलाई वास्ता नगरी शरीर बचाउनका लागी धेरै रात रोएर बिताउँछिन्। द्वन्द्वले बिनाकारण उनीको सबै कुरा क्षतविक्षत बनायो। जीवनलाई मृत्युको दोधारमा अठ्याएर हिँडेकी उनी अहिले पाठेघर र मानसिक समस्या भोगिरहेकी छिन्।
यी तीनजना सयौंं पीडितमध्येका प्रतिनिधि पात्र हुन्। मानसिक समस्याको भारी बोक्नुपर्ने अवस्था उनको कारणले बनेको होइन। राज्यले गरेको ज्यादती हो। तर समाजले पीडितलाई नै दोषी देखाउँछ।
उतिबेला लड्ने लडाउनेहरू सबै सरकारमा थिए वा छन् तर आज पनि पीडितका मनमा मलमपट्टी लगाउन त परै जाओस् ‘कस्तो छ’ सम्म पनि भन्न कोही पनि आउँदैनन्। पीडितको गुनासो छ। देशैभर सयौं महिला आज पनि मनमा पीडा र तिरस्कारको भारी बोकेर मानसिक समस्यासँगै जीवन जिउन बाध्य छन्। द्वन्द्वले घरबास र शरीर सम्म छोडेन। राजनीति अनि द्वन्द्वका नाममा सोझा सिधा गाउँका महिलाको योनिलाई हतियार बनाई ब्यबस्था परिबर्तन भए पनि पीडितको अवस्था सुधार भएको छैन।
हिजो ती रगत पसिना, इज्जत र पीडा खेपेका दिदीबहिनीको अवस्था त परै जावस् के छ भनेर सोध्न यहाँ कसैलाई चासोसम्म छैन। अझ के छ त भने ती मुद्दालाई कुर्सी-मोह र राजनीतिक बिचलनका कारण अब नगरौं भन्न पो थालेको जानकारहरू बताउँछन्।
द्वन्द्वको कारण अहिले पनि समुदायमा महिलाहरू भित्र पीडासंगै हिजो आफूमाथि भएको बलात्कारका घटना श्रीमान, समाज र परिवारले थाहा पाउछ कि भनि डर र त्रासमा बाहिरी हांसो देखाएर पीपसंगको घाउलाई बाहिरी मलम लगाएको पाइन्छ।
बर्षौपछि यौन हिंसाका सवाल उठाउँदा घाउ र प्रमाण खोज्ने सरकारप्रति दिक्क महिलाहरू मनमा गह्रुङ्गो भारी बोकेर बस्न बाध्य छन्। महिला शान्ति र सुरक्षा अन्तर्गत नेपाल सरकारले संयुक्त राष्ट्रसंघमा प्रतिवद्धता गर्दै दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्ने भन्दै १८२० र १३२५ का लागि हस्ताक्षर समेत गरेको थियो तर उक्त कार्ययोजना अपुरोमा तुहिएको छ।
पटक पटक सत्य निरुपण तथा मेलमिलाप आयोग गठन हुन् र समयअबधि सकिने तर काम पुरा नहुनु तितो एथार्थ हाम्रो सामु रहेको छ।
अहिले पनि २०८२ जेठ ४ गतेका दिन आयोग गठन गरी उजुरीको लागी सुचना समेत माग गरेको छ। गोपनीयताको ख्याल नगरेर रातारात उजुरी माग गर्नु चित्त बुझाई नभएको दर्जनौं द्धन्दपीडित संस्थाका नेतृत्वले बिरोध जनाई रहेका छन्।
द्वन्द्वसँग सम्बन्धित यौन हिंसा शब्दले बलात्कार, यौन दासत्व, जबर्जस्ती वेश्यावृत्ति, जबर्जस्ती गर्भावस्था, जबर्जस्ती गर्भपतन वा नसबंदी, जबर्जस्ती विवाह र महिला, पुरुष, महिला वा बालिकाहरूविरुद्ध हुन् तुलनात्मक रूपको हरेक प्रकारको यौन हिंसालाई बुझाउँछ।
जुन द्वन्द्वसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको छ। यो शब्दले यौन हिंसा वा शोषणको उद्देश्यका लागि द्वन्द्वको अवस्थामा प्रतिवद्ध हुँदा व्यक्तिहरूको बेचबिखनलाई पनि समेट्छ।
युद्धका समयमा यौन हिंसामा पर्नेहरूका बेदनाको सम्बोधन अनि अधिकारको प्रत्याभूत गर्दै विश्वसमक्ष उनीहरूका आवाज सुनाउन हरेक वर्ष जुन १९ तारिखमा संयुक्त राष्ट्रसङ्घले द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाउने गर्छ। १९ जुन सन् २०१५ मा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रत्येक वर्षको जुन १९ लाई द्वन्द्वमा हुन् यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको थियो।
द्वन्द्वमा हुन् यौन हिंसाको अन्त्य गर्न आवश्यक पर्ने चेतना जगाउनको लागि भनेर यस दिवसको खाका कोरिएको हो। द्वन्द्वसँग सम्बन्धित यौन हिंसा, विश्वभर यौन हिंसाबाट पीडित भएका र बाँचेकाहरूलाई सम्मान गर्न र यी अपराधहरूको उन्मूलनको लागि खडा हुन् साहसपूर्वक आफ्नो जीवन समर्पण गर्ने र आफ्नो जीवन गुमाएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्न यो दिवसको विशेष भूमिका रहन्छ।
द्वन्द्व-पीडित तथा प्रभावित महिलाको आत्मसम्मान सहितको सत्य, न्याय र परिपूरणका लागि अविलम्व व्यवस्था गर्न साथै सङ्क्रमणकालीन न्यायलाई कानूनी व्याख्याको परिधिबाट फराकिलो पारेर स्वन्याय, पारिवारिक न्याय र सामाजिक न्यायको अनुभूति गर्ने संयन्त्र र वातावरण निर्माण गर्न माग गर्दै आजको दिन सरकारसँग अपिल गरिन्छ।
दशक लामो सशस्त्र द्वन्द्वको समयमा नेपालमा भएको गम्भीर मानव अधिकार हननका घटनाहरू घटेका छन्। घटनामा महिला तथा बालबालिकाहरू बढी प्रभावित भए। द्वन्द्वको समयमा महिला र बालिकाहरू प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा वा परिस्थिति जन्य कारणबाट जोखिमपूर्ण जीवन बाँच्न बाध्य भएको र उनीहरू यौनजन्य हिंसा तथा अन्य लैङ्गिक हिंसाको जोखिममा परेको तथ्यलाई विभिन्न घटना तथा सन्दर्भहरूले समेत उजागर गरेका छन्।
राज्यले धेरथोर अन्य पीडितका तथ्याङ्क अध्यावधिक गरेपनि यौन हिंसा पीडितका न तथ्याङ्क छ, न त यो विषयमा बोल्न र सुन्न चाहन्छ। हिजोका पीडित र पीडक दुवै पक्ष कहिले आलोपालो त कहिले अलग-अलग सिंहदरबार अनि बालुवाटार भित्रिए पनि द्वन्द्व पीडितका सवालमा मौन छन्। प्रायः महिलामाथि भएका यौन अपराध जस्ता सवालहरू सम्बोधन हुन सकेका छैनन्।
राजधानीमा केही संघ संस्थाले दिवस मनाएर अलिकति सचेत गराएपनि सरकारी तवरबाट कुनै भूमिका सम्म भएको पाइँदैन। यौनाङ्गमा सिस्नो राखेर गरिएका प्रताडना होस या बाँसका छडीले घोचिएर यौनी छियाछिया परिएको होस् ती सबै जघन्य अपराध हुन्।
आफू त आफू हो, जनावरलाई समेत प्रयोग गरेर घटाइएका अमानवीय हिंसाका सवालमा विगतमा आफूले लड्न बाध्य बनाएका सत्ताको मूल-दैलोभित्र रहेका समयमा यतातिर ध्यान दिन सकेमा दुःखीरहेको मन र तनमा शितलता हुने विश्वास रहेको छ।
अबका दिनमा महिलाको शरीर द्वन्द्वको हतियार नबनोस्। साथै न्याय, सम्मान, परिपुरण समेतको अपेक्षामा वर्षाै बिताएका आमा दिदीबहिनीका आँखामा खुसी ल्याउने गरी भर्खरै गठन भएका आयोगहरूले पीडितमैत्री भुमिका निभाउन सकुन्। शुभकामना !